वडाध्यक्ष र वडा सदस्यबीच हानाहान
Thursday, November 11th, 2021, 9:30 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २५ कात्तिक
नागरिकताका विषयमा नेपालगन्ज उप-महानगरपालिका-७ का वडाध्यक्ष र वडासदस्यबीच हात हालाहाल भएको छ । नागरिकताको सिफारिस लिन वडा कार्यालय पुगेका सेवाग्राहीलाई सिफारिस नदिएको विषयमा वडाध्यक्ष जुम्मन खाँ र वडासदस्य किशोर थापाबीच हात हालाहाल भएको हो ।
चार दिनदेखि वडा कार्यालयमा नागरिकता सिफारिसका लागि धाइरहेका एक सेवाग्राहीलाई वडा सचिवले नचिनेको र सर्जमिन बस्न पनि कोही तयार नभएको भन्दै सिफारिस दिन मानेका थिएनन् । तर, वडा सदस्य थापाले निज व्यक्तिलाई आफूले चिनेको र उनी स्थानीय नै भएको बताउँदै वडासचिवलाई सिफारिस दिन हप्काएपछि वडाध्यक्षले आफूले सम्झाउन खोज्दा निजले हातपात गरेको बताए ।
हातपातमा उत्रिएका वडाध्यक्ष र वडा सदस्य दुवैजना नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुन् ।
नागरिकताको सिफारिस लिन आएका व्यक्ति लामो समय भारतमा बस्दै आएको र अहिले स्वदेश फर्किएपछि नागरिकता बनाउन सिफारिस लिन आएका थिए । उनका बुवासँग नेपालगन्ज-८ ठेगाना भएको नागरिकता छ । तर वडासचिव र अध्यक्षले सिफारिस लिन पुख्र्यौली थलो पोखरा जान भनेको उनी बताउँछन् ।
उनको सर्जमिन गर्न नकिएका कारण सिफारिस दिन नसकिएको वडाध्यक्ष खाँ बताउँछन् । उक्त विषयमा वडा प्रहरी कार्यालयमा भएको छलफलमा वडा सदस्यले माफी मागेपछि थप कारबाही अघि नबढाइएको वडाध्यक्ष खाँले बताए ।