विक्रम बुढाक्षेत्री खजुरा, २५ कात्तिक
जंगलजस्तै देखिने हरियालीबीच बाँसले बारिएका रेष्टुरेन्टहरु । रेष्टुरेन्टका झ्यालमा पनि कला । भित्र पस्ने बित्तिकै देखिने हिमश्रृंखला र हिमाली जनजीवन झल्किने वाल पेन्टिङ । छेउमा सानो पोखरी । पोखरीको किनारमा राखिएको हस्तकला चलचित्र । बाँसबाट तयार गरिएका हेलिकप्टर एवं पानीजहाज आकृतिका कटेजहरु । ‘लभ साइन’सहितका सेल्फि स्पटहरु, घरपालुवा पंक्षीहरु, बाल उद्यान, प्रेम उद्यान, हरियाली र प्राृकतिक वातावरणका बीच समय बिताउन मिल्ने गरी राखिएका बेन्चहरु । यति मात्रै होइन करिब एक बिघा क्षेत्रफलको जमिनमा सबै सुविधायुक्त पिकनिकट स्पट पनि । खजुरा बजार नजिकै भएपनि जंगलको बीचमा तयार गरिएको सुन्दर ‘मिनि पार्क’ ।
खजुरा गाउँपालिका-४ स्थित उपर्यक्त विशेषतासहितको ‘खजुरा मिनि पार्क’का मालिक हुन्, टेकबहादुर श्रेष्ठ। किसानका छोरा टेकले करिब ६ वर्ष एनसेल कम्पनीमा सवारी चालकको काम गरे । त्यसपछि जापान गएर रेष्टुरेन्ट वा कृषि क्षेत्रमा व्यवसाय गर्ने सोच बनाएर उनले जापनिज भाषा सिके । कुकको सीप पनि सिके । उनका काका अहिले पनि जापानमै छन् । तीनपटक भिजा रिजेक्ट भएपछि उनले आफ्नै ठाउँमा केही फरक गर्ने निणर्य गरे । ‘अब नेपालमै केही गर्छु भन्ने लाग्यो,’ हाँस्दै टेकबहादुरले भने, ‘नेपालमै जापान बनाउन खोज्या हो ।’
२०७५ सालमा साना आकारका कटेजहरुसहित पार्ककै वातावरणमा खानको स्वाद पस्किने उदेश्यसहित व्यवसायको सुरुवात भएको थियो । अहिले टेकबहादुरले सोचेको पार्कको अवधारणाको करिब ५० प्रतिशत काम सकिएको बताए । करिब दुई करोड रुपैयाँ पार्कको संरचनामा खर्च भइसकेको उनको भनाइ छ । पार्कमा हाल १७ जना युवायुवतिले रोजगारी पाएका छन् । टेकबहादुर, उनकी जीवनसंगीनि र छोरा पनि पार्कमै खटिएका छन् ।
टेकबहादुरमा कलाचेत र सृजनशीलता परिपूणर् छ भन्ने कुरा पार्कमा पुगेपछि प्रष्ट देखिन्छ । पार्कमा एउटा कटेजको भित्तामा उनले नेपालका चर्चित पर्यटकीय स्थलका स्केचहरु पेन्टिङ गराएका छन् । ती पेन्टिङमा खजुरा निवासी चित्रकार डिबि भण्डारीको कला सुक्ष्मता राम्ररी पोखिएको छ ।
खानाका परिकार पनि स्थानीय र अर्गानिक बनाउने उनको उदेश्य थियो । तर पूणर् अर्गानिक खानाहरु खुवाउन सम्भव नभएको उनले बताए । ‘तैपनि सकेसम्म मौलिक स्वाद दिने खानाहरु खुवाउने प्रयास गरिहेका छौँ,’ उनले भने, ‘मार्सी चामलको भात खुवाउने गरेका छौँ । हाँस, लोकल कुखुरा र कालिजको मासु खुवाउने गरेका छौँ ।’
पार्क सन्चालनमा आएको केही समयमै कोरोना महामारीले व्यवसाय ठप्प गरायो । हाल फेरि पार्कमा मानिसहरुको आवागमन बढेको छ । ग्रामिण क्षेत्र भएकोले ठूलो संख्यामा मानिसहरु नआएपनि भविष्यमा पार्कको उदेश्य पूरा हुने टेकबहादुर विश्वास व्यक्त गर्छन् । ‘सहरदेखि टाढा शान्त वातावरणमा रहेकोले सहरका मान्छेलाई पनि तान्न सकिन्छ भन्ने आशा गरेको छु । समयसँगै मानिसहरुले यो प्राकृतिक वातावरणको महत्व बुझ्नेछन्,’ उनले भने । हाल दैनिक करिब दुई सय जनासम्म मानिसहरु पार्कमा पुग्ने गरेका छन् । नेपालगन्ज, खजुरा आसपास र बर्दियाबाट मानिसहरु पार्कमा पुग्ने गरेका छन् ।
करिब दुई करोड लगानी लागिसकेको र अझै दुई करोड लगानी लाग्ने अवस्था रहेपनि सरकारी निकायबाट कुनै सहयोग नपाइएको उनले बताए । पर्यटन र पर्यावरण दुवै पक्षलाई फाइदा पुग्ने व्यवसायलाई पनि सरकारी निकायबाट सकारात्मक सहयोग प्राप्त नभएको टेकबहादुरको भनाइ छ । ‘सरकारले केही गर्ला त भन्ने आशा थियो । तर सोचेजस्तो सहयोग पाइएन,’ उनले भने ।
अब पार्कमा थप मनोरन्जनात्मक र पर्यटक लक्षित संरचनाहरु निर्माण गर्ने योजना टेकबहादुरले सुनाए । चैतभित्रै स्वीमिङ पु्ल बनाउने, आफैले निर्माण गरेको ट्रेनसहितको बाल उद्यान, २४ मिटर अग्लो भ्यु टावर, क्याम्प फायर, मिनि चिडियाखाना, होम स्टे प्रकृतिका कटेजहरु, पार्टी प्यालेस निर्माण गरिने उनले बताएका छन् ।
एउटै मिनि पार्कमा रेष्टुरेन्ट, पार्टी र घुमफिरका सबै प्याकेजहरु दिने योजना उनले सुनाए । ‘यहाँ आउनेहरुले खोज्ने सबै किसिमका सुविधाहरु दिऔँ र आन्तरिक पर्यटनलाई टेवा पुर्याऔँ भन्ने उदेश्य हो,’ टेकबहादुरले भने ।