गुरुकुलले कमायो साढे २१ लाख नाफा
Friday, November 12th, 2021, 6:30 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २६ कात्तिक
नेपालगन्जस्थित गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७-७८ मा २१ लाखभन्दा बढी रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । कुनैबेला ६० लाख रुपैयाँ घाटामा रहेको सहकारी गत आर्थिक वर्षमा २१ लाख ४७ हजार ६ सय ३० रुपैयाँ नाफा कमाउन सफल भएको सहकारीको शुक्रबार सम्पन्न एघारौँ साधारण सभामा जानकारी दिइयो । उक्त नाफा शेयर सदस्यहरुलाई लाभांशस्वरुप बाँडफाँड गरिनेछ । अघिल्लो आर्थिक वर्ष २०७६-७७ मा भने पाँच लाख ११ हजार रुपैयाँ मात्र नाफा आर्जन भएको सहकारीले जनाएको छ ।
गत आर्थिक वर्षमा सात लाख ६६ हजार रुपैयाँ सहकारी आफैले लगानी गरेको छ भने ६ करोड ८६ लाख ५२ हजार नौ सय ५९ रुपैयाँ कर्जा लगानी गरेको छ । हालसालै बाँके जिल्लाभरी कार्यक्षेत्र विस्तार गरेको सहकारीमा अघिल्लो आर्थिक वर्षभन्दा एक करोड २८ लाख ६ हजार ६ सय ८८ रुपैयाँ बढी ८ करोड ६४ लाख १७ हजार एकसय आठ रुपैयाँको कारोबार गर्न पनि सफल भएको छ । गत आर्थिक वर्षमा चार करोड ९३ लाख ४३ हजार ७४ रुपैयाँ बचत निक्षेप सहकारीले संकलन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा ५२ लाख ४५ हजार तीन सय २४ रुपैयाँले बढी निक्षेप हो ।
गुरुकुलले गत वर्ष शेयर पुँजी २४ लाख ३५ हजार दुई सय रुपैयाँले वृद्धि गरेको छ । अघिल्लो अर्थिक वर्षमा ८२ लाख ६८ हजार पाँच सय रुपैयाँ शेयर पुँजी रहेकोमा गत आर्थिक वर्षमा एक करोड ७ लाख चार हजार सात सय रुपैयाँ पुर्याएको छ ।
सहकारीले चालु आर्थिक वर्षमा शेयर पुँजी बढाएर एक करोड ६२ लाख ६२ हजार आठ सय रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ । साधारण सभामा चालु आर्थिक वर्षको कार्ययोजना प्रस्तुत गर्दै सहकारीका अध्यक्ष प्रदीप चौधरीले बचत निक्षेप बढाएर आठ करोड ११ लाख ९६ हजार दुई ४५ पुर्याउने, ऋण लगानी बढाएर १० करोड तीन लाख ९७ हजार बढी पुर्याउने र कुल कारोबार १२ करोड ४७ लाख ९४ हजार पुर्याउने लक्ष्य लिइएको जानकारी दिए ।
संस्थाका बचत कर्ता र शेयर सदस्यहरुको व्यवसायीक सफलता, बचत गर्ने बानीको विकास, सरकारीका कर्मचारी एवं सन्चालकहरुको मिहिनतले यो सफलता मिलेको अध्यक्ष चौधरीले बताए ।