साकारले गर्यो कृषिमा डेढ करोड लगानी
Friday, November 12th, 2021, 7:04 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २६ कात्तिक
बाँकेको राप्तीसोनारी गाँउपालीका वडा नं ६ मा रहेको साकार कृषि सहकारी संस्था लिमिटेडले डेढ करोड रुपैँया कर्जा लगानी गरेको जनाएको छ । शुक्रबार नेपालगन्जमा सम्पन्न १० औँ साधारण सभामा प्रस्तुत प्रतिवेदन अनुसार, बाँके जिल्लाका सबै स्थानीय तहमा कार्यक्षेत्र रहेको सहकारीले एक करोड ६५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । पाँच हजार पाँच सय ८२ जना सदस्य रहेको उक्त सहकारीमा आठ करोड १७ लाख २ सय ४१ रुपैयाँ बचत निक्षेप संकलन भएको छ ।
सहकारीले विभिन्न जातका तरकारी तथा खाद्यान्नहरुको बीउ उत्पादन तथा प्रशोधन र बजारीकरण गर्ने, बचत संकलन र कर्जा लगानी गर्ने, विभिन्न निकायको सहयोगमा ब्लक पकेट तथा जोन कार्यक्रम सन्चालन गर्ने, आलु प्याज मिसन कार्यक्रम लगायतका कार्यक्रमहरु सन्चालन गरिएको संस्थाका अध्यक्ष मनोजकुमार मौर्यले जानकारी दिए । मौर्यका अनुसार सहकारीमा सदस्य बनेको तीन महिनापछि ५० लाखसम्मको कर्जा प्रदान गर्ने गरिएको छ ।
सदस्य जोखिम कोष, आकस्मिक जोखिम कोष, कर्जा बिमा लगायत कृषि उपज खरीद र बिक्रि गर्ने लगायतका सेवा सहकारीले प्रदान गर्दै आएको उनले बताए ।
२०६८ साल मंसिर ७ गते बिनौना र फत्तेपुरमा सन्चालनका लागि दर्ता भई सन्चालनमा आएको सहकारीले हाल बाँकेका सबै पालिकामा सेवा दिइरहेको छ । जिल्लामा ५० हजार सदस्य बनाउने र एक हजार जनालाई प्रत्यक्षरुपमा रोजगारी दिने लक्ष्य राखेको सहकारीले सदस्यहरुको आर्थिक, सामाजीक, सांस्कृतिक तथा पारीवारीक विकास गरी समृद्धि उन्मुख गराउने उद्येश्य राखेको छ ।
राप्तिसोनारी गाँउपालीकाको कृषि शाखाको सहयोगमा ५० प्रतिशत अनुदानमा सहकारीमा आबद्ध किसान सदस्यहरुलाई दुई करोड १० लाख बराबरको सामाग्री उपलव्ध गराएको छ । यस्तै एक सय १० हेक्टर धान तथा ६५ हेक्टर गहुँको मूल बिउ उत्पादनका लागि लगाइएको बालिको बिमा समेत गरीएको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।