बाँके कांग्रेसको अधिवेशनको तयारी पूरा
Friday, November 12th, 2021, 7:58 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २६ कात्तिक
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आइतबार बाँकेमा सम्पन्न हुन लागेको वडा तहको अधिवेशनको तयारी पूरा भएको छ । अधिवेशनका लागि ८१ वटै वडाका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन सामाग्री हस्तान्तरण गरिएको छ । जिल्ला निर्वाचन परिचालन समितिले शुक्रबार मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि अभिमुखिकरण कार्यक्रम राखेको थियो ।
अभिमुखिकरण कार्यक्रम पश्चात सम्बन्धित वडाका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन गराउन आवश्यक पर्ने सामाग्री दिएर पठाइएको निर्वाचन अधिकृत एवम् वरिष्ठ अधिवक्ता रेवती रमण भट्टराईले जानकारी दिए । ‘निर्वाचन सम्पन्न गर्नका लागि ध्यान दिनुपर्ने कुराबारे उहाँहरुलाई अभिमुखिकरण गरियो, त्यसपछि सबैलाई निर्वाचन सामाग्री दिएर कार्यक्षेत्रमा पठाउने काम भइसकेको छ,’ उनले भने ।
अभिमुखिकरणमा जिल्लाका ८ वटै स्थानीय तहका ८१ वटा वडाबाट मतदान अधिकृत र सहायक मतदान अधिकृत सहभागी थिए ।
निर्वाचन परिचालन समितिका सदस्य एवम् डिएलए बाँकेका अध्यक्ष इश्वरीप्रसाद ज्ञवालीले निर्वाचनका प्राविधिक पक्षबारे जानकारी गराएका थिए ।
अधिवेशनको निर्वाचन कार्यक्रम अन्तर्गत शनिबार उम्मेदवारी मनोनयन लगायतका काम सम्पन्न हुनेछन् । बाँकेको वडादेखी जिल्ला तहसम्मको संशोधित निर्वाचन तालिका अनुसार कात्तिक २८ गते वडा, मंसिर १ गते गाउँपालिका/नगरपालिका, मंसिर ४ गते प्रदेश सभा, मंसिर ७ गते प्रतिनिधि सभा निर्वाचन क्षेत्र र मंसिर ११ गते जिल्लाको निर्वाचन हुनेछन् ।