जानकीमा प्रदेशस्तरीय ह्याचरी तालिम सुरु
Friday, November 12th, 2021, 8:35 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, २६ कात्तिक
जानकी गाउँपालिका–४ मा रहेको कुखुरा विकास फार्मले शुक्रबारदेखि प्रदेशस्तरीय ह्याचरी तालिम सुरु गरेको छ । प्रत्येक जिल्लामा नै मिनी ह्याचरी फार्म संचालन गर्ने उद्देश्यले तालिम संचालन गरिएको हो ।
तालिममा रुपन्देही, नवलपरासी, पाल्पा, कपिलबस्तु, रोल्पा र बर्दिया एक–एक किसानले सहभागीता जनाएका छन् । प्रत्येक जिल्लाबाट त्यहाका विज्ञ केन्द्रले तालिमका लागि एक जना छानेको हो ।
ग्रामीण भेगमा लोकल कुखुरा पालन गरेका किसानलाई प्रोत्साहन एवम् उत्पादनमा वृद्धि गर्न तालिमको आयोजना गरेको कुखुरा विकास फार्म खजुराका प्रवन्धक डा. शंकर न्यौपानेले जनाकारी दिए ।
शुक्रबादेखि संचालन भएको सातदिने तालिमपश्चात सहकागी प्रत्येक किसानलाई चार सयका दरले चल्ला वितरण गरिने छ । न्योपानेका अनुसार एकवर्षमा उत्कृष्ठ किसानलाई ह्याचरीबाहेक अन्य सेवापनि प्रदान गरिने छ ।
डा. न्यौपानेको अध्यक्षतामा सुरु भएको कार्यक्रमको उद्घाटन पशु सेवा तालिम केन्द्र नेपालगन्जका प्रमुख डा. टेकनाथ आचार्यले गरेका छन् । डा. आचार्यले सिप सिकाईले उत्पादनतर्फ लैजान मद्धत गर्ने भएकाले किसान व्यवसायिक बन्न जोड दिए ।
कार्यक्रममा किसानलाई कुखुरा पालन, ह्याचरी व्यवस्थापन, चल्ला उत्पादन एवम् वितरणलगायतका विषयमा तालिम दिइने छ । तालिम बाहिरी स्रोत केन्द्र स्थापना तथा स्वरोजगार कार्यक्रमअन्तर्गत कुखुरा विकास फार्मद्वारा आयोजना गरिएको हो ।
तालिमपश्चात सामान्य किसानलाई जिल्लामा नै चल्ला उपलब्ध हुने डा.न्योपानेले बताए ।