नेपालगन्जमा जुनियर जेसिसको भेला
Friday, November 12th, 2021, 9:23 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २६ कात्तिक
परोपकारी संस्था जेसीजमा आबद्ध देशभरका किशोरकिशोरी सम्मिलित सम्मेलन नेपालगन्जमा सुरु भएको छ । नेपाल जेसीसको आयोजना र नेपालगन्ज जेसीको आतिथ्यतामा आयोजित १० औं राष्ट्रिय जुनियर जेसीज लिडर्स एकेडेमी-२०७८ को शुक्रबार पूर्वमन्त्री इश्तियाक राईले उद्घाटन गरे । उद्घाटन गर्दै राईले देशको भविष्य अहिलेका युवाहरुको काँधमा रहेकोले त्यो जिम्मेवारी बोधका साथ आफ्नो क्षेत्रमा लाग्न सुझाव दिए ।
सम्मेलनमा देशका करिब २८ जिल्लाबाट प्रतिनिधिमूलक किशोर, किशोरी नेपालगन्ज आएका नेपालगन्ज जेसिसका प्रेसिडेन्ट रेशमलाल चापागाईंले जानकारी दिए । दुई दिने सम्मेलनमा २० वर्ष मूनिका किशोर, किशोरी सहभागी छन् । सम्मेलनमा मोटिभेसन, लिडरशीप र पब्लिक स्पीकिङ्ग सँगै माइन्ड म्यानेजमेन्ट प्रशिक्षण प्रदान गर्ने उदेश्य राखिएको उनले बताए । शुक्रबार क्रिकेटर एलबी क्षेत्री, कृषि उद्यमी कालु हमाल र पर्यटन व्यवसायी कृष्ण चौधरीले उत्प्रेरक प्रवचन दिएका छन् । शनिबार जेसी रविन्द्र कणर्, सहकारीकर्मी नवराज उपाध्याय र उत्प्रेरक सुमनकृष्ण श्रेष्ठले प्रशिक्षण दिने कार्यक्रम छ ।
जेसीसमा एक पद, एक बर्षको नीति छ । नेपालमा जेसीसका १ सय ६० वटा शाखा रहेका छन् । दैवीप्रकोप, महामारी जस्ता विपद्मा जेसीजले सामाजिक उत्तरदायित्व वहन गर्दै आएको छ । जेसीजले रक्तदान, वृक्षारोपण, स्टेशनरी वितरण, हेल्थ क्याम्प, दैवीप्रकोप पीडितलाई राहत वितरण सँगै विभिन्न इभेन्टहरुको आयोजना गर्दै आएको छ ।