देउसी खेलेर संकलित रकमबाट सहयोग
Saturday, November 13th, 2021, 5:15 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २६ कात्तिक
भ्रष्टचारविरुद्ध क्रियाशिल संस्था बागेश्वरी असल शासन क्लब बासले देउसी भैलो कार्यक्रमबाट संकलित रकमबाट तीनजना व्यक्तिहरुलाई सहयोग प्रदान गरेको छ । बासले जानकी गाउँपालिका जुगुन भरियाका नागेश सोनी, कोहलपुरका कमल प्रसाद उपाध्याय र नेपालगञ्ज २२ पुरैनीका रोशनी खाँलाई जनही १०-१० हजार सहयोग गरेको हो । देउसी, भैलो कार्यक्रमको खर्च सार्वजनिकरण कार्यक्रममा सो सहयोग गरिएको हो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले चेक हस्तान्तरण गरेकी थिइन् ।
सहयोग प्राप्त गर्ने नागेश मृगौला रोगका पीडित हुन् । उनी आमाले दिन थालेको मृगौला प्रत्यारोपणको तयारीमा रहेका छन् । कोहलपुरका कमल प्रसाद उपाध्याय करेण्ट लागेर मेरुदण्ड भाँच्चिई उपचारार्थ लखनउमा रहेका छन् । उनीहरुलाई उपचारका लागि सहयोग गरिएको हो भने नेपालगञ्जका रोशनी खाँ आमा, बुवा गुमाएकी बालिका हुन् । उनको पढाईका लागि सहयोग गरिएको हो ।
कार्यक्रममा भैली टिममा संलग्न कलाकार, स्वयंसेवकहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्तिक १८ देखि २१ गते सम्म खेलिएको भैलोमा ४० घरबाट २ लाख ६६ हजार रकम संकलन भएको थियो । संकलित रकमबाट ३० हजार विभिन्न व्यक्तिहरुलाई सहयोग गरिएको छ भने भ्रष्टाचार विरुद्धको भित्ते लेखनका लागि ५२ हजार एक सय ४५ रकम छुट्याईएको छ । बाँकी रकम देउसी भैलो कार्यक्रममा खर्च भएको जनाइएको छ ।