नेपालगन्ज विमानस्थल दिल्ली उडानका लागि आधारभूत पूर्वाधार र क्षमताका हिसाबले तयार रहेको विमानस्थलका प्रमुख सुभाष झाले बताएका छन् । कालपृष्ठसँग कुरा गर्दै झाले भन्सार, आप्रवासन र क्वारेन्टाइनबाहेक विमानस्थलमा एटिआर विमानहरुबाट उडान गर्न चाहिने सबै पूर्वाधार रहेको जानकारी दिए ।
माग बढेमा र विमान कम्पनीहरुले व्यापारिक हिसाबले संभव देखेका आवश्यक संरचनाहरु राखेर उडान गर्न सकिने अवस्था रहेको झाले बताए । ‘टर्मिनल बिल्डिङमा अलिकति कन्जस्टेड हुन्छ । तर त्यसलाई पनि व्यवस्थापन गर्न सकिन्छ, झाले भने, ‘नयाँ टर्मिनल भवनको पनि योजना सुरु भइसकेकोले त्यो समस्या पनि समाधान हुन्छ ।’
अहिलेको अवस्थामा दिल्ली उडानका लागि माग र त्यसको पूर्तिका लागि विमान कम्पनीहरुको ईच्छा जरुरी रहको उनले बताए । ‘एटिआर जहाजबाटै भारतका विभिन्न सहरमा नेपालगन्जको भैरहवा, विराटनगरबाट उडान भयो भने यहाँबाट नहुने कुरै छैन,’ उनले भने ।
झाले विमान कम्पनीका साथै राजनीतिक र कुटनीतिक पहल पनि आवश्यक रहेको बताए । ‘मुख्य कुरा कुनै कम्पनी इन्ट्रेस्टेड भएर आयो भने यो रुटलाई खुला गर्न सरकारी स्तरबाट पहल भैहाल्छ ।’
झाले अहिलेसम्म औपचारिकरुपमा कुनैपनि कम्पनी नेपालगन्ज-दिल्ली उडानका लागि इच्छुक भएर नआएको जानकारी दिए । भैरहवा अन्तराष्ट्रिय विमानस्थलबाट उडान सुरु भएमा नेपालगन्ज विमानस्थलको माग कम हुने आकलन गरिएको भएपनि मानसरोवर जानेहरुका लागि नेपालगन्ज नै उपयुक्त रुट भएको उनले बताए ।
पहिलेभन्दा हाल पार्किङ एरिया पनि बढेको छ । १५ सय मिटर रनवेसहितको पार्किङ एरियामा १२ वटा एटिआर जहाज पार्क गर्न मिल्ने ठाउँ छ ।
नेपालगन्ज दिल्ली उडानका लागि यहाँका पर्यटन व्यवसायीदेखि आम नागरिकले माग गर्दै आएको लामो समय भइसकेको छ । भारतीय पर्यटकहरुका लागि नेपालगन्ज उपयुक्त रुट भएकोले उडानको पर्याप्त संभावना रहेको नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देल बताउँछन् । नेपालगन्ज दिल्ली उडानका लागि हाल मुख्य आवश्यकता रुट अनुमतिको रहेको उनले बताए । ‘विमानस्थलमा भन्सार, आप्रवासन र क्वारेन्टइनलगायत आवश्यक संरचनाहरु राखिने हो भने र भारतबाट रुट अनुमति पाइने हो भने धेरै कम्पनीहरु तयार रहेको मैले बुझेको छु,’ सिग्देलले भने, ‘नेपाल सरकारले यसका लागि पहल गर्ने तदारुकता देखाउनुपर्यो र भारतलाई तयार गराउनुपर्यो । नेपालगन्जको पर्यटनको भविष्य दिल्ली उडानसँग जोडिएको छ ।’
हिमाली जिल्लामा छैन पर्याप्त उडान
हाल नेपालगन्जमा तारा, सिता र समिटका एक-एक वटा ट्विनअटर जहाजहरु नेपालगन्जमा छन् । उनीहरुले कणर्ाली र सुदुरपश्चिमा हिमाली क्षेत्रमा रहेका विमानस्थलहरु हुम्ला, डोल्पा, मुगु, जुम्ला र बाजुरामा एक-एक उडान गर्छन् । एउटा पाइलट टोलीले एकदिनमा पाँचवटाभन्दा बढी उडान गर्न पाइँदैन । त्यसैमाथि मौसम खराबीका कारण सबै विमानस्थलमा पालो दिन पनि उनीहरुलाई हम्मे हम्मे पर्ने गरेको छ ।
ती विमानस्थल रहेका क्षेत्रमा भरपर्दो यातायातको साधन नै हवाईमार्ग हो । ‘अहिलेको अवस्थामा दुई फ्लाइट, तीन फ्लाईटको माग छ,’ विमानस्थल प्रमुख झाले भने, ‘त्यसमाथि हुम्ला, डोल्पा र मुगुमा अत्याधिक माग छ ।’
नेपालगन्जमा नेपाल वायु सेवा निगमको एउटा पनि जहाज छैन । हप्तामा एक दुईपटक आउने जहाजको टिकटका लागि हिमाली जिल्लाहरुमा हानाथाप हुने गरेको छ । ‘नेपाल एयरलाइन्सको जहाजको योगदान समुद्रमा दुईथोपा पानीसरह भइरहेको छ । त्ययसको खासै ठूलो योगदान मानिएको छैन,’ झाले भने ।
विमान कम्पनीहरुले जनशक्तिको अभाव र पर्याप्त जहाज नभएको बताउने गरेका छन् । माग भएपनि मौसमका कारण उडान हुन नपाउँदा खर्च उठाउन समस्या हुने भएकोले पनि कम्पनीहरुले विमान थप्न मानिरहेका छैनन् ।
उडान अभावका कारण हिमाली जिल्लावासीहरु महंगोमा भएपनि टिकट लिन तछाडमछाड गर्ने गरेका छन् । यसैकारण विचौलियाहरुबाट सर्वसाधारण ठगिनेसमेत गरेका छन् ।