एक दर्जन स्रष्टालाई सम्मान, डा. राणाको जीवनवृत्तान्त विमोचन
Sunday, November 14th, 2021, 4:01 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २७ कात्तिक
सर्वदा साहित्य संगमले एक दर्जन साहित्यिक स्रष्टाहरुलाई नेपालगन्जमा सम्मान गरेको छ । शनिबार डा. कृष्णजंग राणाको जीवनवृत्तान्त कृति ‘जिन्दगी नै कहानी हो’ पुस्तकको गृह विमोचन कार्यक्रममा स्रष्टाहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रममा स्रष्टाद्वय सृजन लम्साल र निमबहादुर थापालाई ‘सर्वदा साहत्यि सम्मान’ ले सम्मानित गरिएको छ । यसैगरी ‘डा. कृष्णजंग राणा साहित्य सम्मान’द्वारा स्रष्टाहरु विष्णु कुमाल, मुस्तफा अहसन कुरैसी, भीमबहादुर शाही, लक्ष्मी बस्याल, सोम डेमनरौरा, सुमित्रा न्यौपाने, पुष्कर रिजाललाई पनि सम्मान गरिएको छ । यसैगरी भारत निवासी स्रष्टात्रय शारिक रब्बानी, नन्दकिशोर वर्मा र राजेश कुमार सिंहलाई पनि ‘डा. कृष्णजंग राणा साहित्य सम्मान’द्वारा सम्मान गरिएको छ ।

पुस्तक विमोचन
डा. राणाको जीवनवृत्तान्त पुस्तकको वरिष्ठ कथाकार सनत रेग्मी, लेखक नरेन्द्रजंग पिटर, शायर अब्दुल लतिफ शौक, प्राध्यापक जनार्दन आचार्य, साहित्यकार सच्चिदानन्द चौवेलगायतले विमोचन गरे । नेपालगन्जमा जन्मिएका डा. राणाले नेपालमा औलो उन्मुलन अभियानमा अग्रणी भ्रमिका निभाएका थिए भने उनका दुई दर्जनबढी साहित्यिक पुस्तकहरु प्रकाशित छन् ।
घोष्ट राइटिङ नेपालले प्रकाशन गरेको ‘जिन्दगी नै कहानी हो’ पुस्तकमा डा. राणाको जीवनका महत्वपूर्ण घटनाक्रम, उनका संस्मरण एवं दृष्टिकोणहरु समावेश छन् ।