२ सय ५० बढीलाई निःशुल्क उपचार
Sunday, November 14th, 2021, 8:06 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २८ कात्तिक
नेपालगन्ज उप–महानगरपालिका–१० सुर्खेत रोडमा रहेको निरोगधाम जिके फार्मेशी र नेशनल प्याथ ल्याबले आइतबार दुई सय ५० बढीलाई निःशुल्क चेकजाँचसहितको उपचार सेवा प्रदान गरेको छ । प्याथ ल्याबका संचालक विनय चन्द्र गुप्ताका अनुसार सुगर जाच र आधुनिक प्रविधिद्वारा फोक्सोको चेकजाँच गरिएको हो ।
फार्मेशी र ल्याबले कात्तिक २८, २९ र ३० गते गरी तीनदिने स्वास्थ्य शिविर संचालन गरेको हो । शिविरमा चेकजाँचका साथै विशेषज्ञ डाक्टरद्वारा निःशूल्क परामर्श र सुगरको औषधिपनि वितरण गरेको गुप्ताले जानकारी दिए ।
‘हामीले संचालन गरेको तीनदिने शिविरमा सुगर, फोक्सोको चेकजाँच गरेर बिरामीलाई डाक्टरद्वारा परामर्शपनि दिने व्यवस्था मिलाएका छौं । अनि सुगरका बिरामीलाई पनि निःशुल्क औषधिको व्यवस्थापन गरेका छौं । यो सबै निःशुल्कनै हो,’ ल्याबका संचालक गुप्ताले भने ।
शिविरको पहिलो दिननै एक सय ५० बढी व्यक्तिहरुको सुगर चेकजाँच भएको छ भने ८० बढी व्यक्तिको फोक्सो चेकजाँच भएको छ ।
गुप्ताले भने, ‘यो तीन दिनमा पाँच सय व्यक्तिको चेकजाँच गर्ने हाम्रो लक्ष्य हो । तर पहिलो दिनमा भएको चेकजाँचका आधारमा तीन सयदेखि चार सय जतिको चेकजाँच हुने हाम्रो अनुमान छ ।’
