सहकारीप्रति जनताको धारणा
Monday, November 15th, 2021, 1:20 pm
Kalpristha
सहकारीहरु आम जनताको लागि आर्थिक कारोबार र बचतको सहज माध्यम हुन् । बचतका साथै ऋण लिएर उद्यम गर्न सक्ने प्रचुर सभावना सहरकारीले दिएका छन् । यसै सन्दर्भमा सहकारीबाट आम जनताले कस्तो लाभ प्राप्त गरेका छन् त ? अन्जली राजीले नेपालगन्जमा भेटिएका केही नागरिकसँग संकलन गरेको सहकारी अनुभव जस्ताको तस्तै :

पवन साहु
सहकारी संस्थामा बचत गर्दा समयको बचत भएको छ । पैसा लिएर हिड्नु पर्दैन । पैसा जम्मा गर्न सहज भएको छ । व्यपारमा कमाइ नहुदाँ पैसा पछि जम्मा गर्न पनि पाइन्छ । व्यपारमा घाटा भएमा सजिलै पैसा निकाल्न सकिएको छ । बैङकमा जस्तै लाइन लाग्नु पर्दैन । भोली जम्मा गर्छु भन्दा, पर्सि भन्दा पैसा खर्च भइहाल्छ । सहकारीमा घर पसलमै आएर पैसा लैजान्छन् ।

चन्द्र कुमारी थापा
सहकारी संस्थामा परिवार र आफ्नो खाता खोलेको छु । संस्थाले घरायसी आर्थिक कारोबार निकै सजिलो भएको छ । पैसा जम्मा गर्न घरमा पैसा राखे खर्च भइहाल्छ । पैसा जम्मा गर्न सधैं बैङक धाउन पनि सकिन्न । संस्थाका बजार प्रतिनिधीहरु घरमै सधै पैसा लिन आउने भएकाले फजुल खर्च पनि कम भएको छ ।
मोहम्मद इस्तियाक राई
सहकारी संस्थामा किसानदेखि व्यापारी सबै एकै ठाउँ हुन्छन् । घर र काम गर्ने ठाँउमै पुगेर सेवा दिन्छन् । पैसा उठाँउछन् । म खेती किसानी गर्ने मान्छे धेरै समय हुन्न । घरी घरी बैङक जाने समस्या हुन्न । ब्याज पनि राम्रो दिराको छ । सहकारी संस्थाहरुले भन्ने बित्तिकै घरमै पैसा दिन्छन् ।
मिना कार्की
खाता पनि पसल र घरमै आएर खोली दिन्छन् । सहकारी संस्थाका बजार प्रतिनिधिहरु पैसा जम्मा गर्न आफैं आउँछन् । आफू धाउनु पर्दैन । ब्याज पनि मज्जाको हुन्छ । मैले पनि पसलको खाता सहकारी संस्थामा खोलेको छु । सहज हुन्छ, सहज भएको पनि छ । दिनको हजार दुई हजार जति पैसा जम्मा गर्छु । त्यही रकमको राम्रो ब्याज पाएर पसललाई थप समानहरु राखिरहेको छु ।
शिव वैश्व
सहकारीमा खाता हुँदा सहज र फाइदा दुवै भएको छ । व्यपारमा आफूसँग खुद्रा पैसा नभएको खण्डमा चाँडै चाइएमा सहकारीका पैसा उठाँउने व्यक्तिहरुसँग पैसा साट्न पाइन्छ । आज कमाइ भाछैन् भोली पैसा दिन्छु पनि भन्न पाइयो । आवश्यक भयो भने पसलमै पैसा लिन अनि दिन आउछन् । आजभोली सहकारीमा अनलाइन् भुक्तानी पनि गर्न सकिन्छ ।