मंसिर ४ गते नेपालगन्जको सडक एकतर्फी बन्द गरिने
Monday, November 15th, 2021, 8:12 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २९ कात्तिक
मंसिर ४ गते बिहान नेपालगन्जको वीपीचोकदेखि कौशिल्यानगरसम्म सडक एकतर्फी बन्द गरिने भएको छ । नेपालगन्ज म्याराथनको समयमा ५० बढी ठाउँमा क्रसिङ रहेकाले एकतर्फी सडक बन्द गरिने भएको हो । क्रसिङ रहेका ठाउँमा सुरक्षाकर्मी परिचालन गर्ने निणर्य गरिएको छ । नेपालगन्ज म्याराथन आयोजक टीम र बाँकेका सुरक्षा प्रमुखहरुका बीचमा सुरक्षा सम्बन्धमा भएको छलफलपछि सो निणर्य गरिएको छ ।
आयोजक क्रियटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरीले मंसीर ४ गते हुने म्याराथनलाई व्यवस्थित गराउने सवालमा सुरक्षा प्रमुखहरुसँग छलफल गरेको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्की, नेपाल प्रहरीका एसपी श्यामकृष्ण अधिकारी, सशस्त्र प्रहरीका एसपी अशोक बम, राष्ट्रिय अनुसन्धानका एसपी नरेन्द्र गिरी, जिल्ला ट्राफिक प्रमुख ऐनबहादुर मल्लको उपस्थितिमा भएको बैठकले म्याराथनलाई सुरक्षा निकायको तर्फबाट कुनै समस्या नआउने प्रतिबद्धता गरिएको छ ।
म्याराथन हुँदा ठाउँ-ठाउँमा वाटरप्वाइन्ट राखिन्छ । भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले नेपाली सेनाले एम्बुलेन्स र ठाउँ-ठाउँमा वाटरप्वाइन्ट राखिदिने बताएका छन् ।
म्याराथनको मिति नजिकिदै जादा तयारी तीव्र पारिएको छ । सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादी र राज्यका बीचमा मंसीर ५ गते भएको विस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष मंसीर पहिलो हप्ता नेपालगन्ज म्याराथन हुँदै आएको छ । यसपालीको म्याराथनमा सात हजारलाई सहभागी गराउने आयोजकले दाबी गरेको छ ।
नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा नेपाली सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथोमा नेपाल प्रहरीका भूमिराज राई, पाँचौमा नेपाली सेनाका नवराज साउद र छैठौमा सशस्त्र प्रहरीका गोपीचन्द्र पार्की विजयी भएका थिए ।