वीरेन्द्र जैसी नेपालगन्ज, २९ कात्तिक
कृषि तथा पशुपक्षी मन्त्रालयले गत भदौ २९ गते नै चालु आर्थिक वर्ष २०७८/७९ का लागि धानको समर्थन मूल्य तोकेको थियो । धानको मूल्य तोकिएपनि हालसम्म धान खरिदको प्रकृया सुरु भएको छैन ।
नेपालगन्जमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग अहिलेसम्म कहिलेदेखि धान खरिद सुरु हुन्छ ? कति खरिद हुन्छ ? र किसानहरुको व्यवस्थापन कसरी हुन्छ ? भन्ने प्रश्नको यकिन जवाफ छैन । तर, जिल्लाका किसानहरुलाई हिउँदेबाली लगाउन बीउ र मललगायत साधन खरिदको लागि धान तत्कालै नबेचि नहुने अवस्था छ । अर्कोतिर किसानहरुको आम्दानीको मुख्य स्रोत नै धान भएकोले उनीहरुलाई धान बेच्न हतार छ । त्यही बाध्यताले उनीहरु सस्तो मूल्यमै धान बेच्न थालिसकेका छन् ।
नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर २१ का किसान सलिम खानले करिब ६० क्विन्टल धान उत्पादन भएकोमा १० क्विन्टल जति बेचिसकेको बताए । उनका अनुसार गाउँमा किसानहरुले क्वीन्टलको करिब एक हजार आठ सयभन्दा बढी मूल्य पाइरहेका छैनन् । झन् यसवर्ष धान स्याहार्ने समयमा भएको वर्षाले धान बिगारेको छ । वर्षाले बिगारेको धानको त व्यापारीहरुले एक हजार तीन सय देखि एक हजार चार सय भन्दा बढी मूल्य नदिने गरेको खानले बताए ।
जबकी सरकारले तोकेको मोटा धानको न्यूनतम समर्थन मूल्य प्रति क्वीन्टल दुई हजार सात सय ५२ रुपैयाँ हो भने मध्यम धानको न्यूनतम समर्थन मूल्य दुई हजार नौ सय २ रुपैयाँ हो । यो मूल्य गत आर्थिक वर्षको तुलनामा दुवै किसिमको धानमा १७ रुपैयाँ प्रति क्वीन्टल बढी हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सीमित कोटा तोकेर धान खरिद गर्ने गरेको छ । गतबर्ष नेपालगञ्ज शाखाले मात्र ४७ हजार ८ सय क्वीन्टल धान खरिद गरेको थियो । जिल्लामा गत वर्ष करिब एक लाख ५६ हजार नौ सय ५० मेट्रिक टन धान उत्पादन भएको थियो । यसवर्ष गतवर्षभन्दा बढी उत्पादन हुने अनुमान गरिएकोमा वर्षाले करिब २५ प्रतिशत धानमा क्षति गरकोले उत्पादन घट्ने छ ।
यसवर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कति धान खरिद गर्छ, कहिलेसम्म गर्छ र धान बिक्री गर्न आउने किसानहरुको व्यवस्थापन कसरी गर्छ भन्ने निर्देशन माथिबाट नआएका मुख्य शाखा कार्यालय नेपालगन्जका मुख्य शाखा अधिकृत रामबहादुर विष्टले बताए । उनका अनुसार धान खरिदको लक्ष्य कम्पनीले मन्त्रालयमा पेश गरेपछि मन्त्रालयले स्वीकृत गर्नुपर्छ । त्यसपछि शाखा कार्यालयमा कम्पनीले परिपत्र गरेपछि खरिद प्रकृया सुरु हुन्छ । हालसम्म माथिल्लो निकायबाट धान खरिदको कुनै परिपत्र नआएकोले खरिद सुरु गर्न नसकिएको विष्टले बताए ।
गतवर्ष मंसिर ८ गतेबाट धान खरिद सुरु गरेको आधारमा यसवर्ष पनि धान खरिदको समय घर्कीनसकेको विष्ट बताउँछन् । जबकि किसानहरुले गतवर्ष पनि धान खरिदमा ढिलाई हुँदा सस्तोमै धान बिक्री गरेका थिए । ॅअबको एक हप्तामा परिपत्र आउँछ । त्यसपपिछ सिडिओ साबको संयोजकत्वको समिति छ । उक्त समितिको बैठक बसेर किसानहरुको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल गरेर खरिद सुरु गरिहाल्छौँ,’ मुख्य शाखा प्रमुख विष्टले बताए । नेपालगन्जमा रहेका ३ वटा गोदाममा ५७ हजार क्विइन्टल धान राख्ने क्षमता छ ।
धान खरिद सुरु गरेपनि यसवर्ष अधिकांश किसान धानको गुणस्तरका कारण समस्यामा पर्ने भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सिस्यान नभएको र उच्च गुणस्तरको धान मात्रै खरिद गर्ने गरेको छ । ‘हामीले धान खरिद गरेर चामल बनाई उपभोक्तालाई बेच्ने हो । त्यसका लागि धानको गुणस्तर तोकिएको छ । त्यसअनुसार भएन भने हामीले खरिद गर्न पाउँदैनौ,’ विष्टले भने ।
तर, यसवर्ष अधिकांश धान भिजेर बिग्रेको छ । भिजेर बिग्रेको धान लिएर आएमा किसानहरुले कष्टमात्रै भोग्नुपर्ने जोखिम छ । खरिदका लागि परिपत्र आएमा सुकेको तथा भुस नभएको अनि सफा धान मात्र खरिद गर्न ल्याउन अनुरोध गरिने विष्टले बताएका छन् ।