ओलीले बाँकेका मिश्रलाई एमाले प्रवेश गराउँदै, को हुन् मिश्र ?
Tuesday, November 16th, 2021, 3:09 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३० कात्तिक
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली मंसिर १ गते बुधबार नेपालगन्ज आउने भएका छन् । स्वतन्त्र राजनीतिक समूहका नेता पशुपतिदयाल मिश्र लगायतका व्यक्तिहरुलाई पार्टी प्रवेश गराउन अध्यक्ष ओली नेपालगन्ज आउन लागेका जनाइएको छ ।
मिश्र यसअघि प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सूर्य चुनाव चिन्हबाट चुनाव लडेर पराजित भएका थिए । सूर्य चिन्हबाट लडेपनि उनले औपचारिक रुपमा एमाले प्रवेश गरेका थिएनन् । उनी हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहमार्फत राजनीतिक सक्रियता देखाउने प्रयास गर्दै आएका थिए । अब मिश्र केही अरु नेता र दलबलसहित एमालेमा प्रवेश गर्ने भएका छन् ।
एमाले बाँकेका उपाध्यक्ष किश्मतकुमार कक्षपतिले मिश्रसहित तीन हजारभन्दा बढी नेता कार्यकर्तालाई एमाले प्रवेश गर्ने भएकोले सोहीअनुसारको तयारी गरेको जानकारी दिएका छन् । मेरो प्लानेट बालेगाउँमा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रममा अध्यक्ष ओलीसँगै लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल पनि सहभागी हुने बताइएको छ ।
सो कार्यक्रममा मिश्रसहित मधेसी र मुस्लिम समुदायका व्यक्तिले पार्टी प्रवेश गर्ने जानकारी दिइएको छ । मिश्रसँगै करिम खाँ, गिरिजा पाठकलगायतले पनि पार्टी प्रवेश गर्ने भएका छन् । नेता मिश्रले पार्टी प्रवेश गर्नेहरु ६० प्रतिशत बाँके क्षेत्र नम्बर २ का व्यक्तिहरु रहेको दाबी गरेका छन् ।
को हुन मिश्र ?
२०४४ सालसम्म जिल्ला विकास समिति बाँकेमा जागिरे रहेका मिश्रले जागिर छाडेर राजनीति सुरु गरे । उनले त्यसबेला हिरमिनिया गाउँ पन्चायतमा प्रधानपन्चमा उम्मेदवार दिए । तर पराजित भए ।
त्यसपछि नेपाली कांग्रेसमा पसेका उनी २०५२ सालमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि भए । २०५४ सालमा हिरमिनिया गाविसको अध्यक्ष निर्वाचित भए । २०५५ सालमा उनी काँग्रेस, एमाले, राप्रपा लगायतका दलका उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेद्वार बनेर चुनाव लडे तर पराजित भए ।
मिश्रको राजनीति तत्कालिन मधेश आन्दोलनले थप सुधार गर्यो । उनले उक्त आन्दोलनमा सक्रिय सहभागिता जनाए । पछि उनी राजपामा संलग्न भई उक्त पार्टीको सहमहामन्त्री पनि भए । तर प्रतिनिधि सभाको निर्वाचनको मुखमा उनले राजपा परित्याग गरे ।
पार्टीहरुभित्र उम्मेदवार छनोटको प्रक्रिया चलिरहँदा उनले राजपा परित्याग गरेका थिए । त्यसपछि उनी एमालेको समर्थनमा सूर्य चिन्हबाट निर्वाचन लड्न तयार भए र उनलाई माओवादीले पनि साथ दियो । तर उनी तत्कालिन संघीय समाजवादी फोरमका नेता मोहम्मद इस्तियाक राईसँंग पराजित भए । राईको २१ हजार ५७५ मत आयो भने मिश्रको १५ हजार ९५१ मत आयो ।
चुनाव लड्नुअघि पार्टी परित्याग गर्ने र नयाँ स्पेश खोज्ने गर्दै आएका मिश्र आसन्न निर्वाचनको मुखमा फेरि एमालेमा औपचारिक रुपले प्रवेश गर्दैछन् । यद्धपि उनको एमाले प्रवेशको सुनिश्चितता चुनाव चिन्ह लिँदा नै भइसकेको दाबी गरिँदै आएको छ ।
मिश्र संविधान बनिसकेपछिको आन्दोलनका बेला पनि नेपालगन्ज नाकामा धर्ना बसेका थिए । भारतले नेपालमाथि गरेको ‘नाकाबन्दी’ लाई समर्थन गरेको आरोपमा नेपालगन्जवासीले उनको आलोचना गर्दै आएका छन् ।
उक्त नाकाबन्दीका कट्टर आलोचक पूर्वप्रधानमन्त्री वलीले नै मिश्रलाई पार्टी प्रवेश गराउँदै छन् । नेता मिश्रले पनि एमालेले मधेशको मुद्दालाई प्राथमिकताका साथ उठान गरेकाले आफू पार्टीप्रति आकर्षित भएको बताएका छन् ।