को-को छन् बाँकेमा कांग्रेसको पालिकाको नेतृत्वमा आकांक्षी ?
Tuesday, November 16th, 2021, 3:28 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २९ कात्तिक
बाँके कांग्रेसले अहिले १४ औं अधिवेशन गरिहेको छ । अधिवेशन अन्तर्गतकोे वडा अधिवेशन सकिएको छ । अब पालिका अधिवेशनको चटाराले कांग्रेसमा सरगर्मी बढेको छ । मंसिर १ गते पालिकाको नेतृत्वका लागि मनोनयन दर्ता र २ गते चुनाव गर्ने तयारी कार्यक्रम छ । यसैबच जिल्लाका केही पालिकामा नेतृत्वका आंकांक्षीहरु सार्वजनिक हुन थालेका छन् ।
नेपालगन्ज उप-महानगरपालिकाको सभापतिमा नेपालगन्ज उप-महानगरपालिकाकी मेयर उमा थापामगरले उम्मेदवारी घोषणा गरेकी छन् । उमाको प्रतिस्पर्धीमा नेपाल तरुण दल बाँकेका सचिव विनोद रिजालले पनि उम्मेदवारी घोषणा गरेका छन् । साथै वर्तमान नगर सभापति प्रशान्त विष्टलाई पनि नगर सभापतिको आकांक्षीका रुपमा हेरिएको छ । थापामगरको नेतृत्वमा उप-सभापति विनोद न्यौपाने, सचिवमा रविन्द्र घिमिरे र लक्ष्मी खड्कासहितको समूह पनि मैदानमा उत्रिने भएको छ ।
खजुरा गाउँपालिकाको सभापतिमा राजकिशोर महतराले उम्मेदवारी दिएका छन् । सभापतिमा महतरासहितको ७ जनाको उम्मेदवारी भोषणा गरेको हो । खजुरा गाउँपालिका वडा नम्बर २ का सभापति अमर रावतको नेतृत्वमा सोमबार बसेको बैठकले उम्मेदवारीका लागि नामावाली छनौट गरेको हो ।
उम्मेदवारीका रुपमा प्रदेश/क्षेत्र (ख)३ का लागि सदस्य सचिव कोमल राजसिंह ठकुरी र विजयकुमार बुढाले उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै जिल्ला कार्यसमिति सदस्यमा अमृता नेपाल, लुम्बिनी प्रदेश कमिटीमा रामबहादुर महतरा र कमल खत्रीले उम्मेदवारी दिने सभापति रावतले जानकारी दिए । साथै केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उमा थापामगर र ओबिलाल सेन्चुरीले उम्मेदवारी दिने भएका छन् ।
सभापति रावतले सीतापुर गाउँ कार्यसमितिबाट उम्मेदवारी दिएका सम्पूणर् प्रतिनिधिलाई सहयोगका लागि अपिल गरेका छन् । खजुरामा रमेश सिजाली र शेरबहादुर गुरुङ पनि सभापतिका दावेदार रहेका छन् । गुरुङ वर्तमान गाउँ सभापति पनि हुन् ।
यसैगरी कालपृष्ठलाई प्राप्त जानकारीअनुसार कोहलपुरमा वीरेन्द्र शाह, राजेन्द्र श्रेष्ठ र भुम भण्डारी नगर सभापतिका दावेदार रहेका छन् भने राप्तीसोनारीमा भीम राना, टिकाराम बस्नेत सभापति खुमबहादुुर बस्नेत सभापतिका आकांक्षी रहेका छन् । अन्य स्थानीय तहका आकांक्षी को-को छन् भन्ने बुधबारै टुंगो लाग्नेछ ।