ओलीले मिश्रलाई एमालेमा भित्र्याए
Wednesday, November 17th, 2021, 3:57 pm
Kalpristha
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्र राजनीतिक समूहका नेता पशुपतिदयाल मिश्रलाई एमाले प्रवेश गराएका छन् । नेपालगन्जमा आयोजित एक भव्य कार्यक्रममा ओलीले मिश्रलाई फूलमाला र अबिर लगाएर पार्टी प्रवेश गराए । उक्त कार्यक्रममा गिरिजा पाठक, अब्दुल करिम खाँ, चिन्टु वर्मालगायत ७ जनालाई ओलीले पार्टी प्रवेश गराए । उक्त कार्यत्रमम अन्य करिब चार हजार जना अरु पार्टी छोडेर एमाले प्रवेश गरेको एमालेले दावी गरेको छ ।

मिश्रलाई पार्टीमा स्वागत गर्दै केपी ओली
नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा एमाले लुम्बिनी प्रदेश इन्चार्ज एवं निवर्तमान मुख्यमन्त्री शंकर पाखरेललगायतका नेताहरुको पनि सहभागिता थियो ।

पार्टी प्रवेश गरेका नेताहरु केपी ओलीसँग
को हुन मिश्र ?
२०४४ सालसम्म जिल्ला विकास समिति बाँकेमा जागिरे रहेका मिश्रले जागिर छाडेर राजनीति सुरु गरे । उनले त्यसबेला हिरमिनिया गाउँ पन्चायतमा प्रधानपन्चमा उम्मेदवार दिए । तर पराजित भए ।
त्यसपछि नेपाली कांग्रेसमा पसेका उनी २०५२ सालमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि भए । २०५४ सालमा हिरमिनिया गाविसको अध्यक्ष निर्वाचित भए । २०५५ सालमा उनी काँग्रेस, एमाले, राप्रपा लगायतका दलका उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेद्वार बनेर चुनाव लडे तर पराजित भए ।
मिश्रको राजनीति तत्कालिन मधेश आन्दोलनले थप सुधार गर्यो । उनले उक्त आन्दोलनमा सक्रिय सहभागिता जनाए । पछि उनी राजपामा संलग्न भई उक्त पार्टीको सहमहामन्त्री पनि भए । तर प्रतिनिधि सभाको निर्वाचनको मुखमा उनले राजपा परित्याग गरे ।
पार्टीहरुभित्र उम्मेदवार छनोटको प्रक्रिया चलिरहँदा उनले राजपा परित्याग गरेका थिए । त्यसपछि उनी एमालेको समर्थनमा सूर्य चिन्हबाट निर्वाचन लड्न तयार भए र उनलाई माओवादीले पनि साथ दियो । तर उनी तत्कालिन संघीय समाजवादी फोरमका नेता मोहम्मद इस्तियाक राईसँंग पराजित भए । राईको २१ हजार ५७५ मत आयो भने मिश्रको १५ हजार ९५१ मत आयो ।
चुनाव लड्नुअघि पार्टी परित्याग गर्ने र नयाँ स्पेश खोज्ने गर्दै आएका मिश्र आसन्न निर्वाचनको मुखमा फेरि एमालेमा औपचारिक रुपले प्रवेश गरेका छन् । यद्धपि उनको एमाले प्रवेशको सुनिश्चितता चुनाव चिन्ह लिँदा नै भइसकेको दाबी गरिँदै आएको छ ।
मिश्र संविधान बनिसकेपछिको आन्दोलनका बेला पनि नेपालगन्ज नाकामा धर्ना बसेका थिए । भारतले नेपालमाथि गरेको ‘नाकाबन्दी’ लाई समर्थन गरेको आरोपमा नेपालगन्जवासीले उनको आलोचना गर्दै आएका छन् ।
उक्त नाकाबन्दीका कट्टर विरोधी पूर्वप्रधानमन्त्री ओलीले नै मिश्रलाई पार्टी प्रवेश गराएका छन् । नेता मिश्रले पनि एमालेले मधेशको मुद्दालाई प्राथमिकताका साथ उठान गरेकाले आफू पार्टीप्रति आकर्षित भएको बताएका छन् ।