खजुरा गाउँपालिका कांग्रेसका नवनिर्वाचित सभापति रमेश सिंजालीले गाउँपालिकामा पार्टीलाई एकताबद्ध र सशक्त बनाउने बताएका छन् । आगामी दिनमा खजुरामा कांग्रेसको उपस्थितिलाई थप बलियो बनाइने उनले बताए । ‘मैले अब आउने दिनमा कांग्रेसलाई सबल र सक्षम बनाउँदै लैजानेछु । कांग्रेसँग रुष्ट भएका सार्थीहरुलाई फेरि कांग्रेसमै फर्काउने मेरो कोसिस रहनेछ,’ उनले भने ।
उनले युवाहरुलाई समेट्दै र पुराना पुस्ताको अनुभवलाई पनि साथमा लिएर कांग्रेसलाई बलियो बनाउन लागिपर्ने बताए । सिंजालीले भने ‘युवाहरुलाई समेट्दै, अग्रजहरुलाई पनि समेटेर जाने योजना बनाएका छौँ । विभिन्न भातृसंगठनलाई पनि साथमै राखेर अघि बढ्ने योजना बनाएका छौँ ।’
खजुरा गाउँपालिका सभापतिमा सिंजाली, उपसभापतिमा इरफान अहमद खाँ र भिमबहादुर सुनार, सचिवमा अर्जुनकुमार प्याकुरेल र रामजीप्रसाद पौडेल तथा सहसचिवमा मोहम्मद वकिल खाँ र सरिफ खाँ निर्विरोध निर्वाचित भएका छन् । उक्त गाउँपालिकाको ४४ सदस्यीय कार्यसमिति पदाधिकारी निर्वाचित भएको उनले बताए । खजुराबाट प्रदेश सभा क्षेत्रीय अधिवेशन प्रतिनिधी(अपांग)मा गणेशबहादुर बोहरा क्षेत्री निर्विरोध निर्वाचित भएका छन् ।