एक लाख पुग्यो नेपालगन्ज म्याराथनको पुरस्कार राशी
Thursday, November 18th, 2021, 4:35 pm
Kalpristha
सातौं नेपालगन्ज म्याराथनको टाइटल विजेताको पुरस्कार राशीमा २५ हजार रुपैयाँ बृद्धि गरी एक लाख रुपैयाँ पुर्याइएको छ । यसका साथै म्याराथनका सबै विधामा पुरस्कार राशी बृद्धि गरिएको छ । बिहीबार सार्वजनिक गरिएको पुरस्कार राशीअनुसार फुल म्याराथनतर्फ विजेतालाई एक लाख, उपविजेतालाई ५० हजार, तृतीयलाई २५ हजार, चौथोलाई १५ हजार, पाँचौंलाई १० हजार, छैटौंलाई ८ हजार र सातौंलाई ७ हजार प्रदान गरिनेछ ।
गतवर्ष म्यराथनका विजेताले ७५ हजार, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार रुपैयाँ, चौथोले १०, पाँचौंले ८, छैठौंले ७, सातौंले ६ र आठौं हुनेले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए ।
त्यसैगरी हाफ म्याराथन (महिला)तर्फ विजेताले ५१ हजार, उपविजेताले २५ हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार, पाँचौंले ८ हजार, छैटौंले ७ हजार र सातौंले ६ हजार पाउनेछन् । १० किमी खुल्ला पुरुषतर्फ प्रथम हुनेले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार तथा महिला ५ किमी खुल्लातर्फ प्रथमले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ७ हजार पाउनेछन् ।
गतवर्ष महिला हाफ म्याराथनका विजेताले ३०, दोस्राले १५, तेस्रोले १०, चौथोले ७, पाँचौंले ६ र छैर्टौंले ५ हजार रुपैयाँ प्राप्त गरेका थिए ।
त्यसैगरी स्कुललेभल छात्र ५ किमीमा पहिलो हुनेले १० हजार, दोस्रो हुनेले ७ हजार र तेस्रो हुनेले ५ हजार पाउनेछन् भने ३ किमी छात्रा स्कुलतर्फ पहिलो हुनेले ७ हजार, दोस्रोले पाँच हजार र तेस्रोले ३ हजार पाउनेछन् । ह्वीलचेयरतर्फ पहिलो हुनेले ७ हजार, दोस्रोले ५ हजार र तेस्रोले ३ हजारबाट पुरस्कृत हुनेछन् ।
बिहीबार मुख्य प्रायोजक केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेड, लुम्बिनी खेलकुद परिषदका सदस्यसचिव भिम ओली, आशीर्वाद पेन्ट्सका कार्यकारी अध्यक्ष किरण कार्की, शिखर प्लाईका कार्यकारी अध्यक्ष चम्पालाल बोथरा, राष्ट्रिय वाणिज्य बैंकका प्रदेश प्रमुख दिनेश गौतम, फोन पेका शाखा प्रबन्धक महेन्द्र रानाको उपस्थितिमा नेपालगञ्ज म्याराथनका संस्थापक⁄अध्यक्ष टीएस ठकुरीले नगद पुरस्कार घोषणा गरेका हुन् ।
किड्स रन तथा कर्पोरेट रनतर्फ भने पदक तथा उपहार प्रदान गरिनेछ । वाकाथनमा सबैलाई सोलिडारिटीका लागि सहभागि गराइनेछ ।
कार्यक्रममा मुख्य प्रायोजक केएल दुगड ग्रुपका महाप्रबन्धक छाजेडले अन्तर्राष्ट्रिय सहभागी हुन लायक खेलाडीका हकमा वर्षभरिको प्रशिक्षण खर्च व्यवस्थापन गर्न तत्पर रहेको घोषणा गरे । आशीर्वाद पेन्ट्सका कार्यकारी अध्यक्ष किरण कार्कीले राष्ट्रिय कीर्तिमान तोड्ने खेलाडीलाई नगद २५ हजारले अलग पुरस्कृत गर्ने र विदेशी भूमिमा राष्ट्रिय रेकर्ड बनाउने खेलाडीलाई नगद ५० हजारले पुरस्कृत गर्ने घोषणा गरेका छन् ।
नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई, पाँचौंमा सेनाका नवराज साउद र छैटौंमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की विजेता भएका थिए । त्यस्तै महिला हाफम्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छिन् । पाँचौं संस्करणमा सेनाकी पूणर्लक्ष्मी न्यौपाने र छैटौंमा एपीएफकी पुष्पा भण्डारीले जितेकी थिइन् ।