१७ वर्षसम्म निरन्तर रेडियो कार्यक्रम ‘एमओसी’
Friday, November 19th, 2021, 10:00 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २ मंसिर
नेपालगन्जका रेडियोहरुबाट प्रशारण हुँदै आएको लोकप्रिय कार्यक्रम ‘एमओसी रिलोडेड (म्युजिक अन च्वाइस)’ ले १७ वर्ष पूरा गरेको छ ।
पश्चिम नेपालमै एकजना कार्यक्रम सञ्चालकले एउटै कार्यक्रम निरन्तर १७ वर्षसम्म सन्चालन गरिरहेको संभवतः एमओसी एक मात्र रेडियो कार्यक्रम हो । लोकप्रीय रेडियोकर्मी समिरमान श्रेष्ठले सन्चालन गर्दै आएको एमओसी युवा पुस्तामाझ लोकप्रिय छ ।
सूचना तथा मनोरञ्जनको चाखलाग्दो सम्मीश्रणसहितको कार्यक्रम सुन्ने श्रोताहरुले फेसबुकमा ‘एमओसी फ्यान ग्रुप’समेत चलाउँदै आएका छन् । उक्त कार्यक्रममा श्रोताको फोन, एसएमएस, फेसबुक म्यासेज, सामान्य ज्ञान, गाउँ खाने कथा तथा दिमाग खियाउने खालका प्रश्नहरु सोधी श्रोताहरुलाई पुरस्कृतसमेत गर्ने गरिएको र स्रोताको रोजाईका गीतहरु बजाउने गरिएको छ ।
बागेश्वरी एफएमबाट सुरु भएको उक्त कार्यक्रम रेडियो एक्सप्रेस, रेडियो सद्भाव हुँदै हाल रेडियो बागेश्वरी एफबाट प्रशारण भइरहेको छ । ‘यो कार्यक्रम मैले रेडियोमा सबैभन्दा सुरुवातमा चलाएको कार्यक्रम हो । त्यसकाण यसप्रति मेरो हार्दिक लगाव छ । अनि मैले छोडेको रेडियोहरुले यो अरुलाई चलाउन नदिएपनि स्रोताहरुको माग आइ नै राख्न थाल्यो । त्यसकारण जहा गएपनि यसलाई सँग लिइराखें, समिरले भने ।
कार्यक्रमका स्रोताहरु पनि यस कार्यक्रमलाई पछ्याइराख्ने गर्छन् । ‘कतिपयले त कार्यक्रम नसुनेको साँझ नै खल्लो हुन्छ भनेर भन्नुहुन्छ,’ समिरले भने ।
२०६१ साल मंसिर ३ गतेबाट सुरु भएको कार्यक्रम यस क्षेत्रकै सर्वाधिक लोकप्रिय र चर्चित रेडियो कार्यक्रम हो ।