एपिएफका किरण बोगटीले जिते सातौँ नेपालगन्ज म्याराथनको उपाधी
Saturday, November 20th, 2021, 10:45 am
Kalpristha
सातौँ नेपालगन्ज म्याराथकनको उपाधी एपिएफका किरण बोगटीले जितेका छन् । बोगटीले २ घण्टा २९ मिनेट ४१ सेकेन्डमा म्याराथन पूरा गरे । गतवर्ष एपीएफकै गोपीचन्द्र पार्कीले नेपालगन्ज म्याराथन २ घण्टा १८ मिनेट ५९ सेकेन्डमा पूरा गरेका थिए । पार्कीको टाइमिङ नेपालगन्ज म्याराथनको हालसम्मको सबैभन्दा उत्कृष्ट टाइमिङ हो । बोगटी १३ औँ साँगका स्वणर्पदक विजेता हुन् ।
म्याराथनमा दोस्रो भएका नेपाली सेनाका नरेन्द्र रावलले २ घण्टा ३३ मिनेट २८ मिनेटमा म्याराथन पूरा गरेका छन् । म्याराथनको उपाधी विजेताले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
यस्तै हाफ म्याराथन धादिङकी सन्तोषी श्रेष्ठले जितेकी छन् । श्रेष्ठले हाफ म्याराथन एक घण्टा १८ मिनेट ४८ सेकेन्डमा पूरा गरिन् । श्रेष्ठ पनि सागकी सागकी गोल्ड मेडलिष्ट हुन् । दोस्रो भएकी एपीएफकी पुष्पा भण्डारीले एक घण्टा १९ मिनेट १८ सेकेन्डमा दौड पूरा गरेकी छन् । पुष्पा गत संस्करणकी विजेता हुन् । हाफ म्याराथन विजेताले ५१ हजार पुरस्कार प्राप्त गरेका छन् ।
म्याराथनको युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले उद्घाटन गरेका थिए । मन्त्री गहतराज महानायक राजेश हमालसँगै वाकाथनमा सहभागी भएका थिए । नेपाली सेनाका पश्चिम कमाण्ड सेनापति उपरथी प्रेम शाही, नम्बर ४ बाहिनीपति सहायक रथी हरेन्द्र पाठक, कृतिमानी धावक बैकुण्ठ मानन्धरसहित १९ जनाले २१ किलोमिटर दौडेका थिए ।
नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई, पाँचौंमा सेनाका नवराज साउद र छैटौंमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की विजेता भएका थिए । त्यस्तै महिला हाफम्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छिन् । पाँचौं संस्करणमा सेनाकी पूणर्लक्ष्मी न्यौपाने र छैटौंमा एपीएफकी पुष्पा भण्डारीले जितेकी थिइन् ।
यस्तो छ म्याराथन विजेता किरणको करियर ?
२०६१ सालमा शसस्त्र प्रहरीमा जागिर सुरु गरेका किरण सिंह बोगटी सानैदेखि खेलकुदमा लगाव भए पनि उनले खेल्ने अवसर पाएका थिएनन् ।
२०६६ सालसम्म नेपालगञ्जमै रहेका ३५ वर्षीय बोगटी २०६७ सालमा पोखरा पुगे । पोखराको खेल माहोलले उनलाई हौसायो । खेलकुदमा लाग्ने चाहना व्यक्त गरेपछि उनका हाकिमले अनुमति दिए ।
किरण अब हरेक बिहान उस्सुको तालिम लिन थाले । उनले बक्सिङ पनि सिके । तर उस्सु र बक्सिङबाट उनलाई केही प्रगति भएको जस्तो लागेन । किरणले २०७१ सालमा आइजिपी कप अन्तर्गत ८ सय मिटर दौडमा भाग लिएर दोस्रो बने ।
त्यसपछि काठमाडौँमा १० हजार मिटर दौडमा पनि भाग लिए त्यसमा पनि उनी दोस्रो भए । ७२ सालमा फेरि आइजीपी कपमा पाँच हजार मिटर दौडमा किरण पहिलो भए । ७३ सालमा पाँच हजार र १० हजार दुवैमा प्रथम भए ।
लगातार सफलता हात पारेका किरण अब सशस्त्र प्रहरी क्लवको नजरमा परे उनलाई काठमाडौँ बोलाइयो । शसस्त्र प्रहरीले पहिलो पटक म्याराथन खेल्यो । आठौँ खेलकुदमा किरण तेस्रो भए ।
त्यसपछि सागका लागि डेढ महिना अघि भएको छनौटमा किरण पहिलो भए । किरणले १३ औँ सागमा पुरुषतर्फको म्याराथनमा नेपाललाई स्वणर् दिलाएका थिए ।
उनले उक्त म्याराथनामा निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गरेका थिए । म्याराथनमा नेपालका धावक वैकुण्ठ मानन्धरको नाममा कीर्तिमान रहेको छ । वैकुण्ठले तेस्रो सागमा २ घण्टा १५ मिनेट ०३ सेकेण्डको समय निकाल्दै कीर्तिमान बनाएका थिए ।