बर्दियाकै ठूलो धनराशीको क्रिकेट प्रतियोगिता हुने
Sunday, November 21st, 2021, 10:07 am
Kalpristha
कालपृष्ठ समाचारदाता
बर्दिया, ४ मंसिर
मंसिर १३ गते देखि बर्दियाकै ठूलो धनराशीको बर्दिया प्रिमियर लिग क्रिकेट हुने भएको छ । जिल्लामा पहिलोपटक ठूलो पुरस्कार राशीको क्रिकेट प्रतियोगिता हुन लागेको हो ।
नयाँ शिरा युवा क्लबको आयोजनामा मंसिर पहिलो हप्ताभित्र सुरु हुने भनिएको क्रिकेट प्रतियोगिता विभिन्न कारणले मंसिर १३ गतेदेखि सुरु हुने आयोजक क्लबका अध्यक्ष प्रमोद चन्दले जानकारी दिए । क्लबका अध्यक्ष चन्दका स्वर्गीय बुबा वीरबहादुर चन्दको सम्झानामा बर्दिया प्रिमियर लिगको आयोजना गरिएको उनले जानकारी दिए ।
प्रिमियर लिग क्रिकेट प्रतियोगितामा प्रथम हुने टिमलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । त्यसैगरी दोस्रो हुने टिमलाई ५१ हजार एक सय ११ रुपैयाँ पुरस्कार प्रदान गर्ने आयोजक क्लबले जनाएको छ ।
साथै प्रत्येक खेलको म्यान अफ द म्याचले एक हजार, म्यान अफ द सिरिज १० हजार, बेस्ट ब्याट्सम्यान, बलर र उदयमान खेलाडीलाई पाँच हजार प्रदान गरिने छ ।
खेल गुलरिया नगरपालिका-४ स्थित कभर्ड हलको खेल मैदानमा हुने छ । पत्रकार सम्मेलन गरी कति टिम कहाँ कहाँबाट सहभागि हुने भन्नेबारेमा जानकारी गराइने आयोजक क्लवका अध्यक्ष चन्दले बताएका छन् ।