राजनीतिमा उदाउँदै रविन्द्रमान
Monday, November 22nd, 2021, 12:48 pm
Kalpristha
वीरेन्द्र जैसी
नेपालगन्ज, ५ मंसिर
उनी फुटबल खेलाडीकारुपमा उदाए । स्थानीय स्तरमा कयौं फुटबल प्रतियोगिता खेले र राष्ट्रियस्तरका खेलाडीसम्म बने । उनले नेपाली फूटबल खेलको सर्वोच्च निकाय एन्फाको सदस्यसमेतको जिम्मेवारी निभाए । राखेपको सदस्य भएर उनले नेपाली खेलकुदको विकासमा योगदान दिए ।
रविन्द्रमान श्रेष्ठ
व्यवसायमा उनले नेपालका ठूला व्यवसायिक प्रतिष्ठानको नेतृत्व गर्दै तिनलाई बजारमा स्थापित गरेर एक सफल व्यवसायिक नेतृत्वकर्ताको परिचय दह्रोगरी दिए ।
तिनै एक सफल पूर्व फुटबलर र हालका एक सफल व्यावसायिक ‘लिडर’ रविन्द्रमान श्रेष्ठ पछिल्लो समय राजनीतिक नेतृत्वको मार्गमा सक्रियता बढाइरहेका छन् । त्यही सक्रियताको पछिल्लो कडीकोरुपमा कांगे्रसको १४ औँ महाधिवेशनमा उनले आफूलाई महाधिवेशन प्रतिनिधिको उम्मेदवार घोषणा गरेका छन् ।
हुन त उनको पारिवारिक पृष्ठभूमि नै राजनीतिले ओतप्रोत छ । उनका पिता बाँकेको राजनीतिका एक प्रसिद्ध पात्र हुन् । नेपाली कांग्रेस बाँकेका पूर्वसभापति कृष्णमान श्रेष्ठ र उनको परिवार नै समाजको अगुवाईमा अग्रसर हुँदै आएको परिवार हो । त्यसकारण रविन्द्रमानमा राजनीतिको उर्जा नहुने त कुरै भएन । तर, त्यो पारिवारिक पृष्ठभूमिले दिने स्वभाविक उर्जालाई उनले खेल क्षेत्र र व्यावसायिक जीवनका प्रयोग गरे ।
२०३८ सालको प्रथम राष्ट्रिय खेलकुद प्रतियोगितामा भेरी अन्चलको टिमबाट फुटबल खेले । खेल जिताउन गोल गर्दै मुख्य भूमिका निभाए । त्यसपछि उनी राष्ट्रिय टिममा परे । राष्ट्रिय स्तरका आधा दर्जन खेलहरु खेले । विभिन्न क्लबका तर्फबाट व्यावसायिक फुटबल खेले । खेल जीविकोपार्जनको भरपर्दो विकल्प नबनीसकेको अवस्थामा उनले पढाइ र जागिरतर्फको बाटो रोजे । उनले डेनमार्कबाट एमबिए गरेका छन् भने नेपालको शंकरदेव क्याम्पसबाट बि कम गरेका छन् ।
तर खेल उनको जीवनशैलीको अंग सधैं भइरह्यो । उनी हाल नेपाल प्रोफेश्नल गल्फर्स एशोसियसनको अध्यक्ष छन् । उनले नेपालका ठूला खेल प्रतियोगिताहरु प्रायोजनमा व्यावसायिक क्षेत्रबाट अग्रणी भूमिका निभाएका छन् ।
सुरुवातमा सुर्य नेपालको मार्केटिङ अफिरको रुपमा व्यवसायिक दुनियाँमा कदम राखेका रविन्द्र त्यहीँबाट एक सफल व्यावसायिक नेतृत्वकर्ताकारुपमा स्थापित भए । गोर्खा ब्रुअरीको डाइरेक्टर र एड्भाइजरको जिम्मेवारीबाट नेपालमा स्थापित गराउन रविन्द्रमानले देखाएको नेतृत्व कौशल सबैका लागि प्रेरणा बन्यो । उनले मायोज चाउचाउको उत्पादक हिमालयन स्न्याक्स एण्ड नुडल्स प्रालीको सिइओ भएर त्यसलाई पनि स्थापित गराए ।
यसैगरी किया मोटरको नेपालको प्रबन्ध निर्देशक हुँदै डिसहोमको स्थापनाकालको ‘सिइओ’ बनेर उनले डिसहोमलाई गाउँ-गाउँमा पुर्याए । डिसहोममा सफल कार्यकाल सकेर अहिले उनी आफ्नै गृहजिल्ला बाँके फर्किएका छन् । कोहलपुरमा न्यु एभरेष्ट डिस्टिलरी उद्योग र निसानको डिलर उनले हाँकीरहेका व्यावसायिक प्रतिष्ठानहरु हुन् ।
उनले विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसको विचारधारा र राजनीतिको पक्षधरता देखाइरहे । क्याम्पसहरुमा नेपाल विद्यार्थी संघको राजनीतिलाई पाश्र्वमा बसेर सघाइरहे । अहिले पनि उनी नेपाली कांग्रेसको उद्योग व्यापार विभागको केन्द्रिय सदस्य हुन् ।
रविन्द्र अब आर्थिक ज्ञान, अनुभव, सील्प र राजनीतिलाई जोड्नु आवश्यक रहेको बताउँछन् । आर्थिक विकासको स्पष्ट दृष्टिकोण र अनुभव भएको व्यक्ति राजनीतिमा आएपछि मात्रै नेपाली जनताको जीवनस्तर सुधारमा भूमिका खेल्ने उनको धारणा छ । उनी राजनीतिको माध्यमबाट आफूसँग भएको अनुभवलाई नीति निर्माणमा उपयोग गर्न चाहेको बताउँछन् । त्यही चाहनाको पुर्तिका लागि आफू मूलधारको राजनीतिमा सक्रिय भएको उनले कालपृष्ठलाई बताए । ‘अब बेला आयो भन्ने लागेर मूलधारको राजनीतिमा सक्रिय बनाउँदै छु । मसँग भएको व्यवस्थापन र नेतृत्व सीप र अनुभवलाई मैले यहाँ प्रयोग गरे अझ बढी योगदान दिन सक्छुँ भन्ने लागेको छ,’ रविन्द्रले भने ।
रविन्द्रमान श्रेष्ठ
बुवाले राजनीतिमा दिएको योगदान, आफूमा भएको ज्ञान, अनुभव र सीप चिनेर कांग्रेसका मतदाताहरुले अवसर दिने उनको विश्वास छ । उनी आफू भविष्यमा जनप्रतिनिधिकैरुपमा पनि योगदान दिन सक्षम रहेको र आफ्नो गृह क्षेत्रका जनताहरुले त्यसका लागि आफूलाई योग्य देखेका पछि नहट्ने उनले बताए ।
‘हालसम्म मैले जुन ज्ञान, सीप र अनुभव हासिल गरेको छु । मैले जसरी आर्थिक रुपान्तरणको तौरतरिका पढेको मात्रै होइन, अनुभव पनि गरेको छु । त्यसलाई राजनीतिको माध्यमबाट जनतामा हस्तान्तरण गर्न पाएँ भने त्यसले अझ ठूलो योगदान दिन सक्छ भन्ने लागेको छ । आशा छ यसमा मलाई कांग्रेसका क्रियाशिल सदस्य, मतदाता, सहकर्मी, अग्रज र आम जनताले हौसला दिनुहुनेछ,’ रविन्द्रले भने ।