कैलाली हत्या काण्डमा संलग्न थप एक पक्राउ
Monday, November 22nd, 2021, 1:41 pm
Kalpristha
कैलाली लम्कीचुहाका युवक भूपेन्द्र बडुवालको हत्यामा संलग्नको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने लम्कीचुहा नगरपालिका-३ चिसापानीका १९ वर्षीय मदन शाही छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको समन्वयमा धरानबाट पक्राउ गरिएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले जानकारी दिए ।
केही दिनअघि पक्राउ परेका शाहीलाई प्रहरीले सोमबार सार्वजनिक गरेको हो । कात्तिक २३ गते राति टीकापुर नगरपालिका-१ सिद्धार्थ होटल नजिकै लम्कीका भूपेन्द्र बडुवालको हत्या भएको थियो । घटनापछि शाही भागेर सुनसरी पुगेका प्रहरीले जनाएको छ ।
दुई आपराधिक समूहको झगडामा उनको हत्या भएको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको प्रहरीले जनाएको छ ।
बडुवालको हत्या गरेको आरोप लगाउँदै परिवारले १६ जनाविरुद्ध इलाका प्रहरी कार्यालय टीकापुरमा किटानी जाहेरी दिएको छ ।
हत्यामा संलग्न रहेको आरोपमा लम्कीचुहा नगरपालिका-३ का २० वर्षीय आर्यन देवकोटा, २४ वर्षीय महेश रावल, २० वर्षीय धिरज शाही, लम्कीचुहा-१ बस्ने १८ वर्षीय निशान मल्ल र २२ वर्षीय कपिल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
यस्तै टीकापुर नगरपालिका-१ बस्ने २२ वर्षीय प्रविन रिमाल, २६ वर्षीय सोहन शाह, २१ वर्षीय रोहित आले र विकास खड्कालाई पनि प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न ६ जना अझै फरार छन् ।
हालसम्म शाहीसहितका १० जना पक्राउ परेका छन् भने घटनाका मुख्य अभियुक्त भनिएका चिसापानीका नवीन रावलसहितका ६ जना फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।