राप्रपा अध्यक्षको दाबीबाट पछि हटे धवलशमशेर
Monday, November 22nd, 2021, 5:01 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ६ मंसिर
राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा अध्यक्षको पदमा उम्मेदवारी दिने घोषणा गरेका डा. धवलशमशेर राणा आफ्नो अडानबाट पछि हटेका छन् । राप्रपामा नेतृत्व परिर्वतन गरी नयाँ नेतृत्व आउनुपर्ने विचार प्रस्तुत गर्दै आएका राणाले अर्का नेता राजेन्द्र लिङ्देनलाई अध्यक्षको उम्मेदवारमा समर्थन गर्ने भएका छन् । नेपालगन्ज उपमानगरपालिकाका मेयरसमेत रहेका राप्रपाका नेता डा. राणाले कालपृष्ठसँग भने, ‘मैले लिङ्देन जीलाई अध्यक्षको उम्मेदवारी दिन समर्थन गरेको छु । हामी एउटै टीम भएर चु्नावमा जाने हो ।’
आगामी मंसिर १५-१७ गते हुने राप्रपाको एकता महाधिवेशनमा प्रतिनिधिसभा सदस्य तथा नेता राजेन्द्र लिङ्देनले अध्यक्षमा राणाले महामन्त्रीमा उम्मेदवारी दिने सहमति भएको छ ।
युवा पुस्ताले नेतृत्व हातमा लिनुपर्ने पक्षमा रहेका दुबै नेताबीच यो महाधिवेशनबाट सहकार्य हुन लागेको हो । राप्रपामा यी दुवै नेता युवापुस्तामाझ लोकप्रिय मानिन्छन् ।
डा. राणाले मंसिर ९ गते पत्रकार सम्मेलन गरेर लिङ्देनले प्यानलसहित अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेका छन् ।
डा. राणाले आफूहरुको टिम बलिया र युवा जोशसहित आउने दावी गरे । उनले ठोकुवा गर्दै भने, ‘हामीले नेतृत्व परिवर्तन नभएसम्म राप्रपा अघि बढ्दैन भनेर भन्दै आएका छौँ । अब आउने महाधिवेशनबाट नेतृत्व नयाँ पुस्तामा आउने निश्चित भइसक्यो ।’
विगतमा राप्रपाका अध्यक्ष कमल थापा निकट रहेका लिङ्देनको अध्यक्षमा उम्मेदवारी दिने तयारीले राप्रपामा तरंग उत्पन्न भएको छ । थापा पनि अध्यक्षको दौडमा रहेका छन् भने पशु्पति शमशेर राणा पनि अध्यक्षको आकांक्षी रहेका छन् ।