धान बेच्न अझै एक हप्ता पर्खनु पर्ने
Tuesday, November 23rd, 2021, 1:04 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ६ मंसिर
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले अझै एक हप्ता धान नकिन्ने भएको छ । सरकारले तोकेको समर्थन मुल्यमा धान खरिद गर्न थप एक हप्ता लाग्ने मुख्य शाखा प्रमुख राम बहादुर बिस्टले जानकारी दिए ।
बिस्टले एक हप्ताअघि कालपृष्ठसँग कुरा गर्दै बिस्टले मंसिर ८ गतेभित्र धान खरिद प्रकृया सुरु हुने बताएका थिए । तर सोमबार उनले केन्द्रबाट धान खरिद गर्न परिपत्र आइनसकेका कारण अझै एक हप्ता समय लाग्ने देखिएको बताए ।
एक हप्ता अघि किसानहरुले कम्पनीमै पुगेर धान खरिद गर्न दवाब दिँदापनि एक हप्तामा खरिद गर्ने मौखिक सहमति भएको तर सहमति भएको थियो । तर केन्द्रबाटै परिपत्र नआउँदा अझै एक हप्ता समय किसानले पर्खन पर्ने देखिएको हो । जसले गर्दा किसानले बिक्रीका लागि राखेको धान जोगाउन मुस्किल परिरहेको छ ।
यसवर्ष वर्षाले भिजेर धान बिग्रेको उक्त धान खाद्य व्यवस्था तथा व्यापार कम्पनीको मापदण्डमा पर्न नसक्ने जोखिम पनि उत्तिकै छ । जसकारण धेरै किसानको धान खरिद नहुने चिन्तामा किसान छन् । यो वर्ष सरकारले मोटा धानको २ हजार ७ सय ५२ रुपैया समर्थन मुल्य तोकेको छ भने मध्यम धानको २९ सय २ रुपैया तोकेको छ । समयमै मुल्य तोकिएपनि धान खरिद गर्न कम्पनीले अनुमति दिएको छैन । जसकारण किसानहरु व्यापारीलाई सस्तोमै धान बेच्न बाध्य भइरहेका छन् ।