‘साना किसानलाई बैंकले हेर्दैन’
Tuesday, November 23rd, 2021, 9:08 pm
Kalpristha
विक्रम बुढाक्षेत्री
नेपालगन्ज, ७ मंसिर
बाँकेका किसानहरुले साना किसानलाई बैंकले बेवास्ता गरेको गुनासो गरेका छन् । विभिन्न उत्पादकमूलक कृषि कार्य गर्दै आएका किसानहरुले बैंक व्यापारीमूखीमात्र भएको आरोप लगाएका हुन् ।
मंगलबार नेपालगन्जमा कृषि ज्ञान केन्द्रले आयोजना गरेको शुलभ कार्जा सहजीकरण अन्तरक्रिया गोष्ठीमा सहभागी अधिकांश कृषकले बैंकहरुले साना किसानलाई बेवास्ता गरेको बताएका हुन् । कृषक र कर्जा प्रवाह गर्ने बैंकबीच ऋणलाई कसरी सहजीकरण गर्न सकिन्छ भन्ने उद्देश्यका लागि कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रममा सहभागी किसानले बैंकले किसानभन्दा बढी व्यापारीहरुलाई प्राथमिकता दिएको बताएक छन् ।
कार्यक्रममा च्याउ किसान केबलप्रसाद शर्माले बैंकको झन्झटिलो कर्जा प्रवाहका कारण किसानले बैंकबाट कर्जा लिन नचाहने बताए । किसान शर्माले भने, ‘ बैंकमा कर्जा लिन धेरै झन्झटिलो भएका कारण किसान दाजुभाईहरुले गाउँघरमै अधिक ब्याजदरमा कर्जा दिने गर्छन् ।’ शर्मा किसानले १८ देखि २४ प्रतिशत ब्याजसम्म तिर्ने गरेका कर्जा लिने गरेको बताउँछन् ।
त्यस्तै कार्यक्रमका अर्का किसान वीरबहादुर हमालले किसानले बंंैकबाट कर्जा लिनलाई कागजी समस्याले मर्का पारेको बताए । ‘किसानहरुलाई बैंकको कागजी प्रकृया पूरा गर्न नैै धौ धौ हुने गर्छ । उनीहरुलाई व्यवसायी योजनानै बनाउन जान्दैनन् । अनि त्यही व्यवसायी योजना बनाउन उनीहरुले ५ हजारदेखि १० हजारसम्म तिर्नु पर्छ । त्यो किसानका लागि धेरै मर्काको कुरा हो,’ हमालले भने । हमालले व्यवसायी योजना जस्ता विषयलाई बैंक आफैंले सहज बनाइदिनु पर्ने बताए ।
तरकारी किसान कृष्ण केसीले कतिपय अवस्थामा सबै कागजी प्रक्रिया पूरा हुँदापनि किसानले कर्जा प्राप्त गर्न नसकेको गुनासो गरे । उनले भने, ‘हामीलाई कर्जा लिनकै लागि कागजी प्रकृया पूरा गर्न ६ महिनासम्म पनि लाग्छ । त्यहीमाथि बैंकले ऋण सकियो जस्ता बाहाना बनाउँछन् ।’
कृषि जिल्ला सहकारी संघका सचिव लोकेन्द्र चन्दले बैंकले किसानहरुलाई ऋण दिननै नचाहने बताए । सचिव चन्दले भने, ‘किसानहरुलाई ऋण दिन झन्झटिलो हुने भन्दै बैंकहरु उनीहरुको फाइलनै हेर्न चाहदैनन् । बरु राष्ट्र बैंकलाई फाइन तिर्न तयार हुन्छन् । कतिले दिएका पनि होलान् ।’
चन्दले किसानका लागि बैंकले कागति प्रक्रियामै झुलाउने आरोप लगाए । उनले किसानका लागि प्रवाह गरिने कर्जाका लागि बैंकमा सुरुमै किसानको आर्थिक आम्दानी देखाउनु पर्ने बाध्यता रहेको बताए ।
चन्दले भने, ‘एउटा किसानले कृषि कर्जाका लागि कर्जा लिदैछ भने । उसले आम्दानी कसरी देखाओस । बरु बैंकहरुले किसानले गर्न लागेको उत्पादनमूलक कामका बरेमा सुरुवात गरेको छ वा छैन । तालिम लिएको छ वा छैन जस्ता कुरालाई हेर्नु पर्छ ।’
कार्यक्रमा उपस्थित अधिकांश किसानले बैंकहरुले ब्याजदरमा पनि एकरुपता ल्याउन पर्ने बताए । उनीहरुले कर्जा र समयको आधारमा फरक–फरक ब्याजदर कायम नगर्नु पर्ने बताएका थिए । साथै उनीहरुले साना किसानहरुका लागि वडास्तरबाटै सहयोग गर्ने वातावरणको सृजना गर्नुपर्नेमा जोड दिएक थिए ।
कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले विगतका दिनदेखि नै बंैक र किसानबीच ऋण प्रवाहका विषयमा समस्या आई रहेको बताए । उनले अनुदान प्रवाहका विषयमा अनुदान वापतको रकम भुक्तानीमा ठिलाई भएको गुनासो किसानबाट आएको बताए । प्रमुख ढकालले धितोका कारणले गर्दा कृषकहरुलाई कर्जा लिन कठिनाई भएको पनि उल्लेख गरे । साथै सुलभ कर्जाका बारेमा बैंकहरुलाई पर्याप्त जानकारी नभएको र ऋण अवधिभर रकम अनुदानको ब्याज दर फरक–फरक भएको गुनासो किसानहरुले भएको ढकालले बताए ।
कार्यक्रममा उस्थित लक्ष्मि बैंकका लोन म्यानेजर संगम क्षेत्रीले किसानहरुलाई अझैपनि बैंकहरुले प्रवाह गर्ने धेरै कर्जाका बारेमा जानकारी नभएको बताए । उनले बैंकले विना धितो धरै प्रकारका कर्जाहरु प्रवाह गरिरहेको बताए । उनले महिलाका नाममा दर्ता भएको फार्म, तीन वर्ष विदेश बसेर नेपाल आएर सोही काम गर्न ईच्छुक युवाहरुलाई विना धितो सहुलियत ब्याजदरमा बैंकले कर्जा प्रवाह गरिरहेको बताए ।
त्यस्तै कार्यक्रममा उपस्थित रहेका एनआईसी एसिया, नेपाल बैंक लिमिटेड, सनिमा बैंकलगायतका प्रतिनिधिले कतिपय अवस्थामा किसानले कर्जा प्रवाहका विषयमा प्रयाप्त जानकारी नभएका कारण समस्या निम्तिएको बताए । साथै उनीहरुले सरकारले तोकेको सहुलियत कर्जाका बारेमा बैंक आफैंपनि अनविज्ञ रहेको उल्लेख गरेका ।
कार्यक्रमका प्रमुख अतिथि एवम् कृषि विकास निर्देशनालय, बुटवलका वरिष्ठ कृषि प्रसार अधिकृत शिवप्रसाद अर्यालले कार्यक्रम उपयोगीमूलक रहेको बताए । उनले कार्यक्रममा किसानका समस्याका विषयमा धेरै कुराहरु बाहिर आउन सकेका कारण गोष्ठी प्रभावकारी रहेको बताए । अर्यालले किसानलाई प्रवाह गरिने बैंकहरुको १५ प्रतिशत बजेटअनुसार कर्जा प्रवाहमा बैंकहरु सकारात्मक हुनु पर्ने बताए ।