नेकपा एस संगठन विस्तारमा आक्रामक
Tuesday, November 23rd, 2021, 10:33 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ७ मंसिर
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले लुम्बिनी प्रदेशमा संगठन विस्तारलाई आक्रामकरुपमा अघि बढाएको छ । संगठन विस्तारसँगै विभिन्न तहको नेतृत्व चयनमा समाजवादीले तीव्रता दिएको हो । पुस ३ गतेसम्म लुम्बिनी प्रदेशका सबै जिल्लामा संगठन निर्माण गर्ने लक्ष्य राखेर संगठन विस्तारलाई तीव्रता दिइएको पार्टीका केन्द्रिय परिषद सदस्य विनोद मैनालीले जानकारी दिए । पुस ३ गते लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा विशाल कार्यक्रम आयोजना गरी लुम्बिनी प्रदेशको नेतृत्व घोषणा गर्ने कार्यक्रम रहेको उनले बताए ।
लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा मंसिर २५ गतेसम्म संगठन विस्तार गरेर नयाँ नेतृत्व चयन गरिसक्ने लक्ष्य अनुरुप हालसम्म बर्दिया जिल्लाको नेतृत्व चयन गरिसकिएको र बुधबार बाँके जिल्लाको नेतृत्व घोषणा हुने भएको छ ।
नेपालगन्जमा एक भव्य कार्यक्रमकाबीच जिल्लाको नेतृत्व चयन गर्न लागिएको मैनालीले जानकारी दिएका छन् । जिल्लाका सबै वडा तह, स्थानीय तह, क्षेत्र र जिल्लाको नेतृत्व उक्त कार्यक्रममा घोषणा गरिने मैनालीले बताए । उक्त कार्यक्रममा करिब १५ सय व्यक्तिहरुको सहभागिता रहने उनको भनाइ छ ।
उक्त कार्यक्रममा नेकपा एसका लुम्बिनी प्रदेश अध्यक्ष मेटमणी चौधरी, लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासी, लुम्बिनी प्रदेश सचिव तथा तथा केन्द्रिय सदस्य राजु गुरुङको उपश्थिति रहने जनाइएको छ ।
अरु विभिन्न पार्टी छाडेर नेता कार्यकर्ताहरु नेकपा एसमा प्रवेश गर्नेक्रम पनि तीव्र रहेको नेकपा एसमा केन्द्रिय सदस्य एवं बाँके जिल्ला इन्चार्ज अशोक कोइरालाले जानकारी दिए । उनका अनुसार बुधबार पार्टी नेतृत्व घोषणा कार्यक्रममा पनि ठूलो संख्यामा अन्य पार्टीबाट नेकपा एसमा प्रवेश गर्नेछन् । न्युरोडस्थित रोयल पार्टी प्यालेशमा आयोजित कार्यक्रममा पार्टीका नेताहरुले प्रवेश गर्नेहरुलाई स्वागत गर्नेछन् ।