‘ड्युटी’ सकिएको भन्दै नेपालगन्ज झारियो रुकुमका यात्रु
Wednesday, November 24th, 2021, 9:52 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ७ मंसिर
पाइलटको तोकिएको ‘ड्यूटी आवर’ सकिँदा काठमाडौंबाट रुकुमको चौरजहारी विमानस्थलमा उडेको नेपाल एयरलाइन्स नेपाल वायुसेवा निगमको ट्विनअटर जहाज आइतबार साँझ नेपालगन्जमा अवतरण गरेर सोमबार मात्रै रुकुम गएको पाइएको छ ।
उक्त जहाज बिना कुनै जानकारी नेपालगन्जमै रोकिएपछि विमानमा रहेका सवार यात्रु अलपत्र परेका थिए । चौरजहारीमा मौसम खराब भएको रिर्पोट आएपछि त्यहाँ पुगेर अवतरण गर्न नसकेको भए पाइलटको ड्यूटी आवर क्रस हुने अवस्था भएकोले जहाज नेपालगन्जमै रोकिएको बताइएको छ ।
नेपाल नागरिक उडड्यन प्राधिकरण र अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठनले पाइलटका लागि एक दिनमा १० घण्टा वा १० पटकको ल्याण्डिङसम्म उडान गर्न पाउने भनि निश्चित समयावधि तोकेको हुन्छ । त्यो समयावधि भन्दा बढी समय पाइलटले जहाज उडाएमा एयरलाइन्स र पाइलट दुवैलाई नियामक निकायले कारबाही गर्ने नियम छ ।
निगम स्रोतका अनुसार आइतबार ३ बजे त्रिभुवन विमानस्थलबाट आठ जना यात्रु लिएर ट्वीनअटर जहाज रूकुमको चौरजहारी विमानस्थलतर्फ उडेको थियो । तर, जहाज रूकुम नपुगी नेपालगञ्ज विमानस्थलमा अवतरण गराइएको थियो । क्याप्टेन पेम्बा शेर्पाको चार बजे ड्युटी सकिन्थ्यो । उनले नेपालगञ्ज पुगेपछि ‘मेरो ड्युटी सकियो’ भन्दै यात्रुलाई नेपालगन्जमै ओरालेका थिए । यात्रुलाई नेपाल वायुसेवा निगमले नै बस्ने बन्दोबस्त मिलाएको जनाएको छ ।
मंगलबार बिहान त्यही ट्वीनअटर जहाजले नेपालगञ्ज विमानस्थलबाट यात्रुलाई रूकुम पुर्याएको छ । स्रोतका अनुसार आइतबार त्यो ट्वीनअटर साढे ६ बजे नै उड्ने तालिका थियो । तर, मौसमलगायत कारण समयमा उडाउन नसकिएपछि क्याप्टेन शेर्पा घर गएका थिए । उनलाई दिउँसो फेरि निगमले जहाज उडाउनुपर्ने भयो भनेर बोलाएको थियो ।
नेपालगञ्ज विमानस्थलका प्रमुख सुवास झाले कुन जहाज कति यात्रु लिएर कहाँका लागि आएको भन्ने विमानस्थल प्रशासनलाई जानकारी नहुने बताए । उनले यो विषय प्रशासनलाई जानकारी गराएको अवस्थामाबाहेक एयरलाइन्सलाई मात्रै जानकारी हुने बताए । ‘जहाजमा कुनै टेक्निकल समस्या आएमा मात्रै हामीलाई जानकारी हुन्छ । यस विषयमा मलाई कसैले पनि रिपोर्ट गरेको छैन, मैले पनि पत्रकारहरूले सोध्दा मात्रै थाहा पाएको हुँ ।’
झाले ड्युटी आवरभन्दा बढी समय जहाज चलाउन नपाइने नियम रहेको र त्यस्तो अवस्थामा जहाज उडाउँदिन भन्ने अधिकार पाइलटसँग रहेको बताए । यद्धपि यात्रु लिएर उडिसकेपछि बीचमै अलपत्र पारिनु गलत भएको सम्बद्धहरुको भनाइ छ ।
जहाज नेपालगन्जमा अवतरण गराउने पाइलटलाई पर्यटन मन्त्रालयले स्पष्टीकरण सोधेको बताइएको छ ।