कांग्रेस बाँकेको सभापतिमा कुर्मीको उम्मेदवारी (भिडियोसहित)
Friday, November 26th, 2021, 7:15 pm Kalpristha
कालपृष्ठ समाचारदाता नेपालगन्ज, १० मंसिर
कांग्रेस नेता बादशाह कुर्मीले बाँके कांग्रेसको सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । कुर्मीले शुक्रबार पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेका हुन् ।
उनी शुक्रबार नै बाँके क्षेत्र नम्बर ३ बाट सबैभन्दा बढी मत प्राप्त गरेर महाधिवेशन प्रतिनिधी (खुल्ला)मा निर्वाचित भएका थिए । कुर्मीले सभापति पदका लागि संस्थापन पक्षबाट आफू सर्वसम्मत उम्मेदवार रहेको बताएका छन् । उनको उम्मेदवारी घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा संस्थापन पक्षका अरु अधिकांश नेताहरुको सहभागिता थिएन ।
उनले कांग्रेस बाँकेको संगठनलाई बलियो बनाउन र आसन्न स्थानीय, प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा कांग्रेसलाई जिताउन उम्मेदवारी दिएको बताएका छन् । ‘मैले ३८ वर्ष नेपाली कांग्रेसको राजनीतिमा मैले जीवन बिताएको छु । मलाई पार्टीले विश्वास गरेर पटक-पटक महत्वपूणर् जिम्मेवारी पनि दिएको छ । अहिले पार्टीभित्रको एकता र गुटउपगुटको अन्त्य गर्नका लागि यस महाधिवेशनमा म हाम्रो टिम(संस्थापन पक्ष) बाट एक जना मात्र उम्मेदवार हुँ,’ उनले भने ।
उनले बाँके क्षेत्र नम्बर ३ मा वडादेखि क्षेत्रसम्मको नेतृत्व सर्वसम्मतरुपमा चयन गर्न भूमिका खेलेको बताउँदैै आफू सभापति भएमा जिल्लाभरी नै त्यसखालको वातावरण सृजना गर्ने दावी गरे । उनले कांग्रेसको संगठन सुदृढीकरण गर्दै आगामी जनप्रतिनिधिको निर्वाचनमा पार्टीलाई जिताउने भूमिकाका लागि आफू जिल्ला नेतृत्वमा आउन चाहेको बताए ।
पार्टीमा लामो समयदेखी राजनीति गर्दै आएका कुर्मी २०६४ र २०७० सालमा तत्कालिन संविधान सभामा समानुपातिक सभासद भएका थिए । २०७४ सालको प्रतिनिधी सभा निर्वाचनमा क्षेत्र नम्बर ३ बाट चुनाव लडेका उनी तत्कालिन बाम गठबन्धनका नन्दलाल रोकायसँग थोरै मतले पराजित भएका थिए । नेता कुर्मीले उम्मेदवारी घोषणा गर्ने क्रममा बाँकेस्थित नेपाली कांग्रेस बाँकेका सचिव कपिलदेव शर्मासहित नेता, कार्यकर्ताको उपस्थिती रहेको थियो ।
विगतमा पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइराला निकट उनी कोइरालाको निधनपछि भने सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउबातिर लागेका थिए । उनले उम्मेदवारी घोषणा गरेपनि संस्थापन समूहबाट लुम्बिनी प्रदेशका वन वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र बहादुर हमाल, नेताहरु निरन्जनसिंह सिजापति, राजकुमार बर्मा र लक्ष्मीनारायण शाहको पनि चर्चा छ । संस्थापन इतरबाट भने नारायण प्रसाद गौडेल उम्मेदवार बन्ने बताइएको छ ।