संक्रमणको दर शून्यमा झर्दै
Friday, November 26th, 2021, 7:29 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १० मंसिर
बाँकेमा कोभिड–१९ संक्रमण दर न्यून हुँदै गएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्रको तथ्यांकअनुसार जिल्लाको संक्रमण दर शून्यमा देखिन थालेको हो ।
केन्द्रले उपलब्ध गराएको तथ्यांकमा शुक्रबार जिल्लामा शून्य संक्रमण दर रहेको छ । यो सातामा शून्य संक्रमण दर भएको यो दोस्रोपटक हो । गत एक साताको तथ्यांक हेर्दा शून्य सँगसँगै संक्रमित संख्या न्यूननै रहको छ ।
गत मंसिर ९ गतेपनि जिल्लाका एकजना पुरुषमा मात्र संक्रमण पुष्टि भएको थियो । त्यस्तै मंसिर ८ गते दुईजना पुरुषमा, ७ गते शून्य, ६ गते पुरुष दुईजना र महिला एकजना गरी तीनजनामा संक्रमण पुष्टि भएको केन्द्रले जनाएको छ । साथै ५ गते एकजना पुरुषमा र ४ गते एकजना पुरुष र एकजना महिलामा संक्रमण पुष्टि भएको थियो ।
जिल्लामा संक्रमण दर कम भएका कारण निको हुनेको संख्या पनि कम भएको व्यवस्थापन केन्द्रले जनाएको छ । शुक्रबार जिल्लामा एकजना महिला र एकजना पुरुष गरी दुईजना संक्रमण मुक्त भएका छन् । त्यस्तै गत ९ गते दुईजना पुरुष, ८ गते तीनजना पुरुष, ७ गते शून्य र ६ गते एकजना पुरुष र एकजना महिला संक्रमण मुक्त भएका थिए । साथै ५ गते एकजना महिला र एकजना पुरुष र ४ गते तीन जना पुरुष र सातजना महिला संक्रमण मुक्त भएका छन् ।
केन्द्रका तथ्यांक हेर्दा शुक्रबारसम्म जिल्लामा कूल १८ हजार चार सय ५७ जनामा संक्रमण पुष्टि भई सकेको छ । निका हुनेको कूल संख्या भने १८ हजार एक सय दुईजना रहेको छ ।
जिल्लामा शुक्रबार थप एकजना कोभिड संक्रमित व्यक्तिको मृत्यु भएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार मृत्यु हुनेमा कोलपुर नगरपालिका–५ का ६५ वर्षीय पुरुष रहेका छन् ।
हालसम्म जिल्लामा कूल तीन सय ४२ जना संक्रमितको मृत्यु भई सकेको छ भने जिल्ला बाहिरका चार सय ३३ जना संक्रमितको मुत्यु भई सकेको छ ।
देशभरको अवस्था हेर्दा थप दुई सय ४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै तीन सय दुईजना संक्रमण मुक्त भएको छन् भने दुई जना संक्रमितको मृत्यु भएको छ ।
हालसम्म नेपालमा कूल आठ लाख २० हजार पाँच सय २७ जनामा संक्रमण पुष्टि भई सकेको छ । साथै आठ लाख एक हजार सात सय २२ जना संक्रमण मुक्त भई सकेका छन् । मृत्यु हुनेको संख्या भने ११ हजार पाँच सय १८ जना संक्रमित रहेका छन् ।
हालसम्म नेपालमा ४५ लाख ९९ हजार चार सय ८९ जनाको पीसीआर परीक्षण भई सकेको मन्त्रालयले जनाएको छ ।