थियटर निर्माणको योजनामा पूर्णिमा
Saturday, November 27th, 2021, 11:35 am
Kalpristha
वीरेन्द्र जैसी
कोहलपुर, १० मंसिर
कोहलपुरस्थित पूर्णिमा साहित्य प्रतिष्ठानले बहुउपयोगी रंगमन्च (थियटर) निर्माण गर्ने योजना अघि सारेको छ । कोहलपुर नगरपालिकाले प्रतिष्ठानलाई वडा नम्बर ११ र २ को सीमानामा पर्ने लोकनगरमा दुई कठ्ठा जग्गा उपलब्ध गराएपछि थियटर निर्माणको योजनामा अघि बढेको हो । प्रतिष्ठानका अध्यक्ष कपिल अन्जानले हाल थियटरको डिपिआर निर्माणको काम चलिरहेको जानकारी दिए ।
तीन तलाको संरचनामा भुईँतलामा पार्किङसहितको कार्यालय, पहिलो तलामा कार्यालय र मिनिसंग्राहलय एवं माथिल्लो तलामा ट्रससहितको बहुउदेश्यीय थियटर हल निर्माणको योजना रहेको उनले जानकारी दिएका छन् ।
‘३० औं, ५० औं वर्षपछि पनि आउने नयाँ पुस्ताका लागि काम लागोस् भनेर बहुउपयोगी थिएटर हल बनाउने सपना बोकेर हिँडेका छौं,’ अन्जानले भने ।
डिपिआर निर्माणका लागि कोहलपुर नगरपालिकाले यसपर्ष चार लाख रुपैयाँ बजेट पनि विनियोजन गरेको छ । यद्धपि उक्त बजेट डिपिआर निर्माणका लागि पूणर्रुपमा पर्याप्त नरहेको अध्यक्ष अन्जानले बताए । थप बजेटका लागि नगरपालिका, जनप्रतिनिधि, व्यवसायी एवं साहित्यकलाप्रेमीहरुले आश्वासन दिएको अन्जानले बताए । बजेटकै कारण थियटर निर्माणको काम नरोकिने उनको विश्वास छ ।
शुक्रबार पूर्णिमाले प्रसिद्ध आख्यानकार एवं चलचित्र पटकथा लेखक नयनराज पाण्डेसँग थियटरको सृजनशिलताका विभिन्न पाटाहरुबारे अन्तर्कृया गर्यो । लेखक पाण्डेले कार्यक्रममा आफ्ना पटकथा लेखन र थियटरसँग जोडिएका अनुभवहरु सुनाए । उनले थियटर निर्माण भएमा समग्रमा यस क्षेत्रको सृजनशिलताको विकास हुने धारण व्यक्त गरे । ‘थियटरले यस क्षेत्रका साहित्य र कला क्षेत्रको विकासमा अभूतपूर्व योगदान दिन्छ । यसले नयाँ आख्यानकारहरु जन्माउँछ । यस क्षेत्रका कथाहरुले अभिव्यक्तिको नयाँ माध्यम पाउँछन् ।’
वरिष्ठ कथाकार सनत रेग्मीले आफूले लामो समयदेखि थियटर निर्माणको आवश्यकता औँल्याउँदै आएकोमा कोहलपुरमा उक्त योजनाले साकार रुप लिँदै गरको भन्दै खुसी व्यक्त गरे । उनले भने, ‘कोहलपुरमा थियटर बन्यो भने त्यो बाँके जिल्लालाई नै एक ठूलो उपहार हुनेछ ।’