कांग्रेस बाँकेको अधिवेशन हठात् सारियो
Sunday, November 28th, 2021, 8:24 pm
Kalpristha
नेपाली कांग्रेस बाँकेको अधिवेशन हठात् सारिएको छ । नेताहरु जिल्ला सभापतिको उम्मेदवार छनौटमा व्यस्त रहेका बेला निर्वाचन सारिएको हो ।
संघीय निर्वाचन क्षेत्र अधिवेशन सकिएपछि जिल्ला अधिवेशनको अन्तिम तयारी भइरहेका बेला अधिवेशन सरेको हो । सोमबार मनोनयन दर्ता र मंगलरबार निर्वाचनको कार्यतालिका तय गरिएको थियो ।
कांग्रेस बाँके सभापति किरण कोइरालाले केन्द्रिय निर्वाचन समितिले नै जिल्लाका निर्वाचनहरु नगर्न निर्देशन दिएपछि स्थगित गरिएको जानकारी आएको बताइन् । ‘हामी सबै तवरले निर्वाचन सम्पन्न गर्न तयार थियौँ । उम्मेदवार छनौटको काम चलिरहेका बेला अचानक सार्ने निणर्य भयो । समयका हिसाबले पनि हामी निर्वाचन सम्पन्न गर्न सक्ने थियौँ । तर, अब केन्द्रबाटै निर्देशन आएपछि मान्नै पर्यो,’ उनले भनिन् ।
जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका नारायण गौडेलले सबै तयारी सकएको र आफूहरुले उम्मेदवारी दिएर प्रचारप्रसारमा गइसकेको अवस्थामा निर्वाचन सारिनु दुःखद भएको बताए । ‘चाहेको खण्डमा प्रदेशको अधिवेशन अघि नै निर्वाचन सम्पन्न गर्न संभव थियो । तर अन्तिम समयमा आएर निर्वाचन सारियो । यो दुःखद हो । तर केन्द्रकै निणर्य भएपछि के गर्नु र ?,’ उनले भने ।
सहायक जिल्ला निर्वाचन अधिकृत चित्र बहादुर शाहीले प्रदेश महाधिवेशन र संघीय महाधिवेशन प्रतिनिधि चुनिइसकेकाले प्रदेश र केन्द्रिय महाधिवेशनलाई असर नपर्ने भएका कारण केन्द्रिय निर्वाचन समितिको निर्देशनमा जिल्ला अधिवेशन सारिएको बताए ।
प्रदेश अधिवेशन मंसिर १६ मै तय गरिएको छ । जिल्ला अधिवेशनमा स्पष्ट बहुमत कसैको पक्षमा नाए पुनः निर्वाचन गर्नुपर्ने र समय अपुग हुने भएका कारण अहिलेलाई प्रदेश अधिवेशनपछि जिल्ला अधिवेशन गर्ने गरी अधिवेशन स्थगित गरिएको उनको भनाइ छ ।
कांग्रेसको अधिवेशन तालिकाअनुसार मंसिर १६-१८ मा प्रदेश अधिवेशन र २१ गते केन्द्रिय महाधिवेशनको मनोनयन मिति तोकिएको छ ।