६ जना एचआइभि संक्रमित आमाले जन्माए स्वस्थ शिशु
Wednesday, December 1st, 2021, 6:00 am
Kalpristha
कालपृष्ठ समााचारदाता
नेपालगन्ज, १४ मंसिर
भेरी अस्पतालको एआरटी सेन्टरमा गत आर्थिक वर्षमा मात्रै ६ जना एचआइभि संक्रमित आमाले स्वस्थ शिशु जन्माएका छन् । सेन्टरको सम्पर्कमा आएका १० जना संक्रमित आमालाई उचित परामर्श र उपचारमा लगिएपछि ९ जना आमाले सुरक्षित रुपमा शिुलाई जन्म दिएका थिए । तीमध्ये नमुना परीक्षणका लागि पठाइएका ६ शिशुको रिपोर्ट प्राप्त भएको र उनीहरु सबैमा एचआभि नदेखिएको एआरटीमा कार्यरत स्वास्थ्यकर्मी होमनाथ सुवेदीले जानकारी दिए । एकजना आमाको भने गर्भपतन भएको थियो ।
भेरी अस्पतालका एचआईभि एड्स फोकल पर्शन डा. संकेत रिसाल समयमै आमाहरु एआरटी सेन्टरको सम्पर्कमा आउने हो भने करिब ९९ प्रतिशत शिशुहरुलाई स्वस्थ जन्माउन सकिने बताउँछन् । ॅचिकित्सकको सल्लाह मान्ने हो भने संक्रमित आमाबाट ९० देखि ९९ प्रतिशतसम्म हुन्न भन्ने मेरो दाबी छ ।’
डा.संकेत रिसाल एआरटी सेन्टरले दिइरहेको सेवा उत्कृष्ठ रहेको बताए । ॅहामी २४सै घण्टा सेवारत छौँ । कर्मचारीहरु बिरामीको सेवामा दिनरात तयारी अवस्थासमा हुनुहुन्छ ।’
डा. रिसालले अहिलेपनि संक्रमितहरुको पहिचानमै समस्या रहेको बताए । हामी सबैले शंका लाग्नेबित्तिकै एचआइभि परीक्षण गराउनु आवश्यक छ । ॅसमयमै जानकारी भयो र उपचारमा गइयो भने यसलाई दीर्घकालिन बनाउन सकिन्छ । स्वस्थ र प्रभावकारी जीवन बाँच्न सकिन्छ ।’
डा. रिसाल कुनै कारणवश रगत लिइसकेपछि, शंकास्पद वस्तु रगतको सम्पर्कमा पुगेपछि, असुरक्षित यौन स्मपर्क भइहालेमा अनिवार्य रगत परीक्षण गर्न आग्रह गर्छन् । ॅहामी अरु रोगको आशंका लागेमा जसरी परीक्षण गर्न डराउँदैनौँ त्यसैगरी एचआइभिको परीक्षण पनि गर्न नडराऔँ । हामीकहाँ स्वास्थ्यकर्मी नै पनि एचआइभि संक्रमित छन् । त्यसकारण यसको जोखिममा जोसुकै पनि हुन सक्छौँ ।’
उनले एचआइभि सर्नसक्ने माध्यमहरु असुरक्षित यौनसम्पर्क, सिरिन्जको असुरक्षित प्रयोग, संक्रमित आमाबाट जन्मिने शिशु र संक्रमित रगतको रगतमा सम्पर्क मुख्य माध्यम भएपनि यी माध्यमहरु बन्ने अवस्था हामीले थाहै नपाई पनि हुनसक्ने बताए । त्यसकारण एकपटक एचआइभि परीक्षण गर्नु आवश्यक रहेको उनको सुझाव छ । एचआइभिबाट एड्स हुनुअघि नै थाहा भएमा त्यसको पूभाव न्यूनिकरण गरी स्वस्थ जीवन बाँच्न सकिने उनको भनाई छ ।
एचआइभि एड्स संक्रमित व्यक्तिहरुलाई समाजिक अवहेलना गर्ने वा हेयको दृष्टिकोणले हेर्ने संस्कार अन्त गरिनुपर्ने स्वास्थ्य कार्यालय बाँकेका एचआइभि फोकल पर्शन मानव नेपालीले बताए । कार्यालयको तथ्यांकअनुसार बाँकेमा हालसम्म एड्सका एक हजार तीन सय ३४ जनामा एचआइभी एड्सको संक्रमण देखिएको छ । वि.सं. २०७४-७५ सम्म एक हजार १२ रहेको संक्रमित संख्या ७५-७६ सम्म एक हजार एक सय एक, ७६-७७ सम्म एक हजार दुई सय १७ पुगेकोमा गत आर्थिक वर्षसम्म आईपुग्दा एक हजार तीन सय ३४ जनामा एचआइभी एड्सको संक्रमण देखिएको छ । यीमध्ये बाँकेका मात्रै तीन सय ३६ जना छन् भने भेरी अस्पतालमा हाल ५ सय २६ जनाले नियमित एआरटी सेवा लिइरहेका छन् । बाँकी पाँच सय ७९ जना बाँकेमा एचआइभि पहिचान भई अन्य जिल्लाबाट एआरटी सेवा लिइरहेका छन् ।
सन् २००४ देखि राखिएको तथ्यांकअनुसार हालसम्म बाँकेमा एक सय ६३ जना एचआइभि संक्रमितको मृत्यु भएको छ । सरकारले सन् २०३० सम्म एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य लिएको छ ।