कांग्रेस लुम्बिनीमा संस्थापनबाट बाँके र बर्दियाका तीन पदाधिकारी उम्मेदवार, संस्थापन इतरबाट एक जना पनि परेनन्
Friday, December 3rd, 2021, 9:32 am
Kalpristha
नेपाली कांग्रेसको १४ औं महाधिवेसन अन्तर्गत लुम्बिनी प्रदेशको पहिलो अधिवेसनमा नयाँ नेतृत्वका संस्थापन(देउवा) पक्षबाट पदाधिकारी उम्मेदवारमा बाँकेका दुईजना परेका छन् । संस्थापनले टुंगो लगाएको सभापति पदमा भरतकुमार शाहको टिममा दुईजना सह-महामन्त्रीका उम्मेदवार बाँकेका छन् ।
सह-महामन्त्रीमा बाँकेका लक्ष्मीनारायण शाह, बाँकेकै माया पुनका साथै रुपन्देहीकी सरिता चौधरीलाई उम्मेदवार बनाउने टुंगो लगाएको हो ।
यस्तै, संस्थापन पक्षबाट उप-सभापतिमा दाङका राजु खनाल र कपिलवस्तुका सुधाकर पाण्डे, महामन्त्रीमा बर्दियाका जन्मजय तिमल्सिना र प्युठानका खिमानसिंह रायमाझी संस्थापन पक्षको उम्मेदवार घोषित भएका हुन् ।

जन्मजय तिमल्सिनाको चुनावी पर्चा
कांग्रेसको संस्थापन इतर (कोइराला/पौडेल) पक्षको पदाधिकारीमा भने बाँके र बर्दियाका एकजनाको पनि नाम छैन । संस्थापन इतर पक्षबाट अमरसिंह पुनको टिममा उप-सभापतिमा गुल्मीका भुवनप्रसाद श्रेष्ठ र रुपन्देहीका अष्टभुजा पाठक, महामन्त्रीमा नवलपरासीका विक्रम खनाल र कपिलवस्तुका सुरेन्द्रराज आचार्य तथा सह-महामन्त्रीमा दाङका खगराज पाण्डे, अर्घाखाँचीका विष्णु मुस्कान र प्युठानका निमा गिरी उम्मेदवार भएका छन् ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार आज शुक्रबार उम्मेदवारी मनोनयन दर्ता हुनेछ भने शनिबार मतदान हुनेछ । आज ८ बजेदेखी ११ बजेसम्मका उम्मेदवारी दर्ताको समय तोकिएको छ । शनिबार बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ ।