बाँकेमा सरकारले २५ हजार क्वीन्टल धान खरिद गर्ने
Friday, December 3rd, 2021, 2:35 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १६ मंसिर
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले यसवर्ष बाँकेमा २५ हजार क्विन्टल धान खरिद गर्ने भएको छ । शाखा कार्यालयलाई कम्पनीको केन्द्रले मोटा धान ५ हजार क्वीन्टल र मध्यम धान २० हजार क्वीन्टल खरिद गर्नेगरी परिपत्र पठाएको छ । केन्द्रबाट परिपत्र नआउँदा ढिलाई भएको धान खरिदको तयारी सुरु गरिएको मुख्य शाखा अधिकृत रामबहादुर विष्टले जानकारी दिए ।
केन्द्रबाट बिहीबार परिपत्र आएपछि धान खरिदको तयारी सुरु गरेको उनले बताए । अब प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिमा छलफल गरेर धान खरिद सुरु गरिने छ ।
कम्पनीका अनुसार धान खरिदका लागि किसानले अझै एक हप्ता कुर्नुपर्नेछ । धान खरिदका लागि कस्तो विधि अपनाउने ? भन्ने विषयमा निक्र्यौल गरेर सूचना जारी गरिसेकेको एक हप्तापछि धान खरिद सुरु हुने कार्यालयको भनाइ छ । त्यसका लागि शुक्रबार समितिको बैठक बस्दै छ ।
कृषि तथा पशुपक्षी मन्त्रालयले गत भदौ २९ गते नै चालु आर्थिक वर्ष २०७८/७९ का लागि धानको समर्थन मूल्य तोकेको थियो । सरकारले तोकेको मोटा धानको न्यूनतम समर्थन मूल्य प्रति क्वीन्टल दुई हजार सात सय ५२ रुपैयाँ हो भने मध्यम धानको न्यूनतम समर्थन मूल्य दुई हजार नौ सय २ रुपैयाँ छ । धानको मूल्य तोकिएपनि हालसम्म धान खरिदको प्रकृया सुरु भएको छैन ।
यसवर्ष तोकिएको कोटा गतवर्ष खरिद गरिएको भन्दा झण्डै २२ हजार क्वीन्टल कम हो । नेपालगञ्ज शाखाले गतवर्ष ४७ हजार ८ सय क्वीन्टल धान खरिद गरेको थियो ।
गतवर्ष मंसिर ८ गतेबाट धान खरिद सुरु गरिएको थियो । धान खरिद सुरु गरेपनि यसवर्ष अधिकांश किसान धानको गुणस्तरका कारण समस्यामा पर्ने भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सिस्यान नभएको र उच्च गुणस्तरको धान मात्रै खरिद गर्ने गरेको छ । ‘हामीले धान खरिद गरेर चामल बनाई उपभोक्तालाई बेच्ने हो । त्यसका लागि धानको गुणस्तर तोकिएको छ । त्यसअनुसार भएन भने हामीले खरिद गर्न पाउँदैनौ,’ विष्टले भने ।
तर, यसवर्ष अधिकांश धान भिजेर बिग्रेको छ । भिजेर बिग्रेको धान लिएर आएमा किसानहरुले कष्टमात्रै भोग्नुपर्ने जोखिम छ । खरिदका लागि परिपत्र आएमा सुकेको तथा भुस नभएको अनि सफा धान मात्र खरिद गर्न ल्याउन अनुरोध गरिने विष्टले बताएका छन् ।