लुम्बिनी प्रदेश पूर्वाधार प्राधिकरण प्रमुख घिमिरेलाई ज्यान मार्ने धम्की
Saturday, December 4th, 2021, 5:48 pm
Kalpristha
लिलाधर वली
दाङ, १८ मंसिर
अस्थायी मुकाम बुटवलबाट लुम्बिनी प्रदेशको राजधानी सार्न थालेको भन्दै लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेलाई ज्यान मार्ने धम्की आएको छ ।

धम्की
स्थायी राजधानीमा भौतिक पूर्वाधारको कामलाई निरन्तर जारी राखेर राजधानी सार्न थालेको भन्दै सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत घिमिरेलाई ज्यान मार्ने धम्की दिइएको हो । सुबोध बेलबासे नामको फेसबुक म्यासेन्जरमार्फत पठाइएको म्यासेजमा राजधानीको काम तुरुन्त रोक्न धम्की दिइएको छ । ‘राजधानी सार्ने नै हो त ? काम छैन पागल जस्तै गरेको छ,’ घिमिरेलाई पठाइएको म्यासेजमा भनिएको छ, ‘अर्थले बजेट रोकिसक्यो, ठेकेदार काम रोक्न तयार छ, सिईओलाई मर्न मन छ के हो ?’ उक्त म्यासेजमा अख्तियार लगाएर या ज्यान मारेर सिध्याउने धम्की दिइएको छ । राजधानीमा भौतिक पूर्वाधार निर्माणको काम तत्काल रोक्न पनि धम्की दिइएको छ । म्यासेजमा लेखिएको छ,‘नत्र बुटवल आएपछि दाङ फर्कन पाउँदैनस् ।’
आफ्नो चार सय करोड रुपैयाँ लगानी सिध्याउन खोजेको भन्दै म्यासेजमा सम्झाउँदा पनि नमानेको उल्लेख गरिएको छ । राधजानीको काम सुस्त गर्न सम्झाएको विषयमा घिमिरेले आफूलाई अप्रत्यक्षरूपमा त्यस्ता खालका सुझावहरू आएपनि आफुले जिम्मेवारीअनुसार काम गरिरहेको बताए ।
घिमिरेकाअनुसार दाङमा राजधानी आउन नदिने नियत बोकेकाहरूबाटै धम्की आएको आशंका गरिएको छ । आफूमाथि असुरक्षा भएको भन्दै प्राधिकरणका सिईओ घिमिरेले सुरक्षा माग गर्दै जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएको बताए । ‘मलाई राम्रोसँग चिनेको र राजधानीको विषयमा चासो र सरोकार राख्ने मान्छेबाट नै यो खालको धम्की आएको हो,’ घिमिरले भने, ‘मैले धम्की दिने व्यक्ति पत्ता लगाउनका लागि सिडिओ र एसपी सापसँग जानकारी गराएको छु ।’ जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेन्द्र काफ्लेले प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत घिमिरेमाथि आएको धम्कीबारे अनुसन्धन सुरु भएको भन्दै छिट्टै दोषीलाई पक्राउ गर्ने बताए । ‘प्रहरीले जानकारी पाउनासाथ अनुसन्धान गर्न थालिसकेका छौ’,उनले भने,‘छिट्टै दोषीलाई पक्राउ गर्ने छौ ।’