यस्तो बन्दै छ लुम्बिनी प्रदेशसभा भवन
Sunday, December 5th, 2021, 7:05 pm
Kalpristha
लिलाधर वली
दाङ, १८ मंसिर
लुम्बिनी प्रदेशको राजधानी देउखुरीको राप्ती उपत्यकामा निर्माणधिन प्रदेशसभा भवनको ७० प्रतिशत काम सम्पन्न भएको छ । निर्माणधिन दुई तले भवनको पहिलो तला ढलान गर्नेदेखि सभा स्थलमा कुर्सी राख्नका लागि ठाउँ तयार पार्नेलगायतका काम भैरहेका छन् ।

निर्माणधिन लुम्बिनी प्रदेशसभा भवन
करिब एक वर्षभित्र निर्माण हुन नसकेको प्रदेशसभा भवन निर्माणको काम नयाँ निर्माण कम्पनीलाई जिम्मा दिएसँगै भवन निर्माणले गति लिएको हो । राती र दिउँसो गरी दुई सिपm्टमा निर्माणको काम हुन थालेपछि करिव १५ दिनमै ५० प्रतिशत भवन निर्माणको काम भएको प्रदेश पूर्वाधार विकास प्राधिकरणले जनाएको छ ।
मंसिर महिनाभित्र प्रदेशसभा भवन निर्माण गरेर हस्तान्तरण गर्ने गरी निर्माण व्यवसायीले काम गरिरहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेले बताएका छन् । प्रमुख कार्यकारी अधिकृत घिमिरेले लुम्बिनी प्रदेशको पहिचान झल्कने गरी भवनको डिजाइनमा केही परिवर्तन गरेर प्रदेशसभा भवन निर्माणको काम भइरहेको बताए ।

निर्माणधिन लुम्बिनी प्रदेशसभा भवन
‘प्रदेशसभा भवन पहिलेको डिजाइनमा केही परिवर्तन गरेका छौ । गारोेमा चाइनिज ईटा लगाएका छौँ भने छानोमा टिनको सट्टा रोल्पाली ढुंगाले छाउने र भवनको अगाडि आँखी झ्याल राख्ने योजना बनेको छ,’ उनले भने, ‘त्यही योजना अनुसार प्रदेशसभा भवन स्थानीय अनुकुलता र पहिचानलाई ध्यानमा राखेर बनाउने काम भैरहेको छ ।’ उनका अनुसार पहिले गारोमा चाईनिज इटाको सट्टा प्रिफेप पाता प्रयोग गरेर बनाउने भनिएको थियो । यसले गर्दा भवन निर्माणको लागत बढ्ने भएपछि बजेट रोक्ने काम हुन थालेको छ ।
यहि महिनाभित्रै भवन निर्माणको काम सक्ने गरी काम अघि बढेपनि पछिल्लो चरणमा भवन निर्माणका लागि समस्या सिर्जना गर्ने खेल भइरहेको बताइएको छ । प्रदेश राजधानी कार्यान्वयनका लागि राप्ती उपत्यकाका प्रदेशसभा भवन निर्माणले गति लिएसँगै केही मन्त्रालयहरु आउने तयारी गरिरहेका बेला प्रदेशसभा भवन निर्माणलाई ढिला गर्ने काम हुन खोजेको प्राधिकारणले जनाएको छ ।
पाँच करोड २१ लाखको लागतमा लुम्बिनी प्रदेशको प्रदेशसभा भवन वाइवी स्टोन बिल्ड्रर्स प्रा.लि.ले गरिरहेको छ । एमएस ड्राईगन बस्नेत जेभीले काम गर्न नसकेपछि प्राधिकरणले प्रदेशसभा भवनको काम वाइवी स्टोन बिल्ड्रर्सलाई दिएको थियो । सम्झौता अनुसार प्रदेशसभा भवन निर्माणको काम ४५ दिनमा सक्ने गरी भवन निर्माणको काम गरिरहेको निर्माण व्यवसायी सिभिल इन्जिनियर यज्ञ केसीले बताए । तर कामको सुनिश्चिता नहुँदा केही समस्या भएको बताए ।
‘पहिलेको डिजाइनमा केही परिवर्तन भएको छ । त्यही अनुसार छानामा टिनको ठाउँमा ढुंगाको छाना, प्रिफेप गाराको ठाउँमा चाईनिज इटा र भवनको अगाडी आँखी झ्याल राख्ने गरि काम भैरहेको छ,’ निर्माण व्यवसायीले केसीले भने, ‘निर्धारित समयमै काम सकेर भवन हस्तान्तरण गर्ने गरि काम भैरहेको छ ।’ उनले प्रदेश सरकारले बजेटको सुनिश्चिता गरे काममा कत्ति पनि ढिलाई नहुने बताए । प्रदेशसभा भवनमा सभाहलसँगै भिआईपी कोठा, भोटिङ कोठा, मर्यादापालकका लागि गरी १४ वटा कोठाहरु बन्ने भएका छन् ।
राप्ती गाउँपालिकाको सवै वडाहरु, गढवा गाउँपालिका वडा नम्बर १,२ र ३ नम्बर र अर्घाखाँची जिल्ला अन्तर्गत सितगंगा गाउँपालिकाका वडा नम्बर ८ र ९ को भू-भागलाई समेटेर प्रदेशको स्थायी राजधानी देउखुरीको राप्ती उपत्यकालाई घोषणा गरेको थियो ।