राप्रपामा महामन्त्रीसहित बाँकेका ६ जना निर्वाचित
Sunday, December 5th, 2021, 7:29 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १९ मंसिर
राप्रपाको एकता महाधिवेशनबाट केन्द्रिय कार्यसमितिमा बाँकेका ६ जना निर्वाचित भएका छन् । निर्वाचित हुनेहरु महामन्त्रीदेखि केन्द्रिय सदस्यसम्म छन् । महाधिवेशनबाट नेपालगञ्ज उपमहानगरपालिकाका मेयरसमेत रहेका डा. धवल शमशेर राणा महामन्त्री निर्वाचित भए । राणाले दुई हजार दुई सय २१ मत प्राप्त गरे । महामन्त्रीका अर्का प्रत्यासी भुवन पाठकलाई एक हजार सात सय पाँच मत प्राप्त भएको थियो । राणा राजेन्द्र लिङ्देन समूहबाट चुनाव लडेका थिए ।
यस्तै केन्द्रिय सदस्यमा पनि बाँकेका पाँच जनाले चुनाव जितेका छन् । खुला पुरुषबाट पूर्वमन्त्री फत्तेसिंह थारु, युवा नेता ऋषिराज देवकोटा निर्वाचित भएका छन् । उनीहरुले क्रमशः एक हजार पाँच सय एक मत, एक हजार एक सय ९९ मत प्राप्त गरे ।
यस्तै महिला खुलाबाट नेतृद्वय पवित्रा सुब्बा श्रेष्ठ र मिना कुमारी श्रेष्ठ निर्वाचित भए । उनीहरुले क्रमशः एक हजार चार सय ८२ र एक हजा तीन सय ८८ मत प्राप्त गरे भने मधेशी खुलाबाट ओमप्रकाश आजाद एक हजार दुई सय ३९ मतका साथ निर्वाचित भएका छन् ।
केन्द्रिय सदस्यकै लागि खुला पुरुषबाट उम्मेदवारी दिएका हिक्मत बहादुर ढकाल, महिलाबाट उम्मेदवारी दिएकी सरिता शाही र मुस्लिमबाट उम्मेदवारी दिएका सलाउद्दीन जसगढ भने निर्वाचित भएनन् ।
राप्रपाको अध्यक्ष पदमा राजेन्द्र लिङ्देन पार्टीका निवर्तमान अध्यक्ष एवं सशक्त नेता कमल थापालाई पराजित गर्दै निर्वाचित भएका छन् । खुला उपाध्यक्षमा विक्रम पाण्डे, महिला उपाध्यक्षमा रोशन कार्की, खुला महामन्त्रीमा डा. राणा र महिला महामन्त्रीमा कुन्ती शाही विजयी भएका छन् । अध्यक्ष पदमा आफ्नो पराजय स्वीकार गर्दै कमल थापाले आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेप भएको आरोप लगाएका छन् ।
राप्रपाको अध्यक्ष पदमा विजयी लिङ्देनले १ हजार ८ सय १७ मत पाउँदा थापाले १ हजार ६ सय १७ मत पाएका छन् ।
खुला उपाध्यक्षमा विक्रम पाण्डे २ हजार ५ सय २१ मतसहित विजयी भएका छन् । बुद्धिमान तामाङले १ हजार ९ सय ४४ र ध्रुवबहादुर प्रधानले १ हजार ८ सय १४ मत पाएका छन् ।
महिला उपाध्यक्षमा रोशन कार्की १ हजार ५ सय ८९ मत सहित विजयी भएकी छन् । महिला महामन्त्रीमा कुन्ती शाही २ हजार ८ मतसहित विजयी भएकी छन् । चर्चित अभिनेतृसमेत रहेकी अर्का प्रत्यासी रेखा थापाले १ हजार ६ सय ४० मत पाइन् ।