महिला स्वास्थ्य स्वयमसेविकालाई नेपालगन्जको सम्मान
Sunday, December 5th, 2021, 5:49 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १९ मंसिर
नेपालगन्ज उप-महानगरपालिकाले उत्कृष्ट महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान गरेको छ । १८ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयसेविका दिवस-२०७८ को अवसर पारेर नगरका २३ वटा वडामा कार्यरत एक सय ६८ जना स्वयम्सेविकामध्ये २३ जनालाई छनौट गरेर सम्मान गरेको उप-महानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।
दिवसका अवसरमा नेपालगन्ज उपमहानगरपालिका कार्यालयबाट प्रभातफेरी पनि निकालिएको थियो । प्रभातफेरीपछि आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तव, नेपालगन्ज उप-महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदी, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख शोभा शाह, स्वास्थ्य शाखा प्रमुख चन्द लेखा अधिकृत लोकेन्द्र रावत लगायतले महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान गरे ।
सो अवसरमा जिल्ला समन्वय समितिका संयोजक श्रीवास्तवले स्वास्थ्य क्षेत्र सुधारका लागि महिला स्वास्थ्य स्वयमसेविकाहरुको महत्वपूणर् भूमिका रहेको बउल्लृख गरे ।
प्रमुख प्रशासकीय अधिकृत सुवेदीले नेपालको ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयमसेविकाहरुको महत्वपूणर् भूमिका रहेको भन्दै उनीहरुका लागि आवश्यक प्रोत्साहन लगायतका सेवा सुविधा थपका लागि उप-महानगरपालिकाले पहल गर्ने बताए ।
महिला स्वास्थ्य स्वयमसेविका संघका अध्यक्ष मनकुमारी सिलवालले कठिन अवस्थामा पनि घरघरमा पुगेर सेवा दिएको भन्दै राज्यले आफुहरुको जीवनयापनका लागि ध्यान दिनुपर्ने माग गरिन् ।