खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु
Thursday, December 9th, 2021, 11:52 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २२ मंसिर
नेपालगञ्जमा ‘बाँके जिल्ला खुल्ला ब्याडमिन्टन’ प्रतियोगिता सुरु भएको छ । बाँकेको जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा नेपाली सेनाको भैरवप्रसाद गण र कर्मचारी मिलन केन्द्र, बाँकेको सह-आयोजनामा प्रतियोगिताको नेपाली सेनाको श्री ४ नम्बर अड्डाका बाहिनीपति सहायक रथी हरेन्द्र पाठकले उद्घाटन गरे । सहायक रथी पाठकले प्रतियोगिताले खेलाडी उत्पादनमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।
उनले यस्ता प्रतियोगिताहरु सैनिक नागरिक सम्बन्धको नमूना भएको पनि बताए । नेपाली सेनाको भैरवप्रसाद गणले ब्याडमिन्टन लगायत जिल्लाका अन्य खेलकुदमा सघाउ पुर्याउदै आएको पनि उल्लेख गरे ।
कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले कोरोनाले गर्दा सुस्त भएका खेलकुद गतिविधिहरु सञ्चालन हुन थालेकोमा खुसी व्यक्त गरे । बाँके जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष सञ्जय थापाले जिल्लाबाट क्रमशः राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्ने र त्यसका लागि खेल प्रतिभा प्रवद्र्धन गर्ने योजनाको साथ खुल्ला ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको बताएका छन् । थापाले बाँकेले १३ जना राष्ट्रिय खेलाडी उत्पादन गरिसकेको जानकारी दिँदै ब्याडमिन्टन खेलमा बाँकको विशिष्ट भूमिका रहेको उल्लेख गरे ।
२५ गतेसम्म सञ्चालन हुने प्रतियोतिामा यु-१९ केटा, मेन्स डबल्स, यु-१९ केटी, मेन्स सिंगल, भेट्रान डबल्स, ओमन सिंगलमा गरी ६ वटा विधामा प्रतिस्पर्धा हुने छ ।
हरेक विधाका प्रथम, द्धितिय र दुईजना तृतियलाई नगद पुरस्कार प्रदान गरिनेछ । मेन्स सिंगल र महिला सिंगलको प्रथम, द्धितिय र दुईजना तृतियलाई क्रमशः पाँच हजार, तीन हजार र एक-एक हजार पुरस्कार रहेको छ । यसैगरी पुरुष युगल र भेट्रान डबलको क्रमशः १० हजार, पाँच हजार र तीन-तीन हजार एवं अन्डर नाइन्टिन गल्र्स र बोइजको समान तीन हजार, दुई हजार र एक-एक हजार रपैयाँ नगद पुरस्कार राशी रहेको छ ।