पिकनिकपछिको बबण्डरले खजुरा गाउँपालिकाको बदनामी
Thursday, December 9th, 2021, 5:20 pm
Kalpristha
कार्यालयमै हुलदंगा, अन्तमा घटना सामसुम
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २३ मंसिर
कर्मचारीहरुको पिकनिकपछिको बबन्डरले खजुरा गाउँपालिकाको बदनामी गराएको छ । पिकनिकका क्रममा एकजना महिला कर्मचारीमाथि यौन दुर्व्यवहार भएको भन्दै केही व्यक्तिहरुको समूह आएर गाउँपालिका कार्यालय पसेर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृतमाथि हातपात गरे । उजुरी औपचारिकरुपमा सम्बन्धित निकायमा दर्ता नहुँदै गाउँपालिकामै हातपात भएपछि प्रहरीले घटनाबारे छानबिनको सजिलोका लागि भन्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल र लेखा अधिकृत प्रदिप सुनारलाई प्रहरी कायालयमै राख्यो ।
२४ घण्टा राख्दा पनि पीडितका पक्षबाट कुनै उजुरी नआएपछि प्रहरीले पक्राउ परेका दुवै कर्मचारीलाई छोड्न बाध्य भएको बतायो । अर्कोतिर प्रमुख प्रशासकीय अधिकृतमाथि भएको हातपातका विषयमा पनि प्रहरीमा कुनै उजुरी परेन । अन्तमा दुवै पक्ष घटनालाई सामसुम पार्न सहमत भए ।
के-के भयो ?
मंसिर १७ गते शुक्रबार गाउँपालिकाका कर्मचारीहरु कैलालीको टीकापुर पार्कमा पिकनिकमा गए । उक्त कार्यक्रम गाउँपालिकाको कार्यक्रम नभई कर्मचारीहरु नै मिलेर आयोजना गरिएको कार्यक्रम थियो । गाउँपालिकाका एक कर्मचारीले भने, ‘सबै साथिहरु मिलेर रमाइलो गरौँ भनेर खर्चको भाग लगाई रकम उठाइएको थियो । सोहीअनुसार ईच्छुक कर्मचारीहरु र केही जनप्रतिनिधिहरुलाई पनि आमन्त्रण गरेर पिकनिकमा गएका थियौँ ।’
पिकनिकमा सहभागीहरुले मदिरा सेवन पनि गरे । नाचगान पनि भयो । ‘त्यसक्रममा पीडित भनिएकी कर्मचारीलाई दुव्र्यवहार भएको हुनपनि सक्छ वा उहाँलाई अस्वभाविक महसुस भएको पनि हुनसक्छ । तर हामीले ठूलो लफडा भएको थाहा पाएनौँ’ पिकनिकमा गएका कर्मचारीहरु भन्छन् । पिकनिकको दिन फर्किन ढिलो भएपछि उनीहरु टीकापुरकै एक होटलमा एउटै कोठामा मिलेर तीन चारजना कर्मचारी बस्नेगरी उनीहरु बास बसे । त्यहाँ पनि थाहा हुनेगरी कुनै घटना नघटेको कर्मचारीहरु बताउँछन् । आरोपितहरुले पनि आफूले जानीबुझी कुनै गल्ती नगरेको बताएका छन् ।
तर, मंसिर २२ गते बुधबार एकाएक गाउँपालिकामा केही युवाहरु आएर होहल्ला गरे । प्रमुख प्रशासकीय अधिकृतलाई लतार्दै गाउँपालिका अध्यक्षको कार्यकक्षमा लगेर हातपातको प्रयास गरे । त्यसबखत गाउँपालिका अध्यक्ष किस्मत कक्षपति कामको शिलशिलामा नेपालगन्जमा रहेकोले आफूलाई कुनै जानकरी नभएको बताउँछन् ।
उक्त घटनापछि प्रहरी आएर आरोपित दुवैजना कर्मचारीलाई ईलाका प्रहरी कार्यालय धनौलीमा लगेर गयो । त्यहाँपनि घटनाबारे दिनभर छलफल भयो । आधिकारिकरुपमा जाहेरी दर्ता भएन । जाहेरी आउने र घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले आरोपितलाई २४ घण्टा थुनामै राख्यो । ‘२४ घण्टा बित्दापनि उजुरी नआएपछि हामीले २४ घण्टाभन्दा बढी राख्न पाइँदैन । त्यसकारण छोड्यौँ,’ बाँके प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले भने ।
‘दुवै पक्षले माफी माग्दै घटना सामसुम पारे’
यसबीचमा कर्मचारीहरुले कानुनी बाटोमा जानुको साटो कार्यालय प्रमुखमाथि हातपात गरिएको भन्दै विरोधस्वरुप विज्ञप्ति निकाले । पीडित बताउने महिला कर्मचारी र हातपातपछि पीडित बताउने कर्मचारी दुवै पक्ष भने औपचारिक कानुनी प्रकृयामा गएनन् ।
अन्तमा पीडित भनिएकी कर्मचारीले पनि विषयलाई अघि नबढाउने बताएको र हातपातपीडित बताउने कर्मचारीले पनि माफी दिने सहमति गरेपछि घटना सामसुम पारिएको बताइएको छ । गाउँपालिकाको न्यायिक समितिकी संयोजकसमेत रहेकी उपाध्यक्ष एकमाया विकले कालपृष्ठसँग भनिन्, ‘दुवै पक्षले आफ्नो गल्तीमा माफी माग्दै घटनालाई अगाडि नबढाउने बताउनुभयो । पीडित भनिएका पक्षले नै त्यस्तो भनेपछि हामीले जोडबल र थप केही भन्नुपर्ने आवश्यकता देखेनौँ।’
राजनीतिक दलहरुको आपत्ति
घटनाको विषयलाई लिएर बिहीबार तीन राजनीतिक दलका खजुरा समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरुले एक संयुक्त विज्ञप्ती जारी गर्दै गाउँपालिका नेतृत्व घटनामा मौन रहेको आरोप लगाएका छन् । केही ‘अराजक’ व्यक्तिहरुको ‘जत्था’ले गाउँपालिका परिसरमा प्रवेश गरी प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतमाथि हातपात गरेको विषयमा गम्भीर ध्यानकर्षण भएको उक्त विज्ञप्तीमा जनाइएको छ ।
नेपाली काँग्रेस खजुराका सभापति रमेश सिँजाली, नेकपा एकीकृत समाजवादी खजुराका अध्यक्ष जीतबहादुर खत्री र नेकपा माओवादी केन्द्र खजुराका सचिव धनराम ओलीले हस्ताक्षर गरेको विज्ञप्तीमा कानुनी बटो अपनाउने विकल्प छोडेर कानुन हातमा लिँदै गाउँपालिका प्रमुखकै कार्यकक्षमा कर्मचारी कुटिँदासमेत गाउँपालिकाले कुनै प्रतिक्रिया नदिनुलाई गम्भीररुपमा लिइएको उल्लेख छ ।
विज्ञप्तीमा भनिएको छ, ‘गाउँपालिकाका तर्फबाट कुनै पनि किसिमको प्रतिक्रिया नआउनु, स्थानीय युवाहरुले कुटपिट गरेको अवस्थामा समेत स्वयं कुटाई खाने कर्मचरी र अन्य कर्मचरीहरु मात्रै नभई सुरक्षामा खटिएका गार्डले समेत कुटपिट गर्ने व्यक्तिलाई चिनेका छैनौं भन्नु, सञ्चारकर्मीहरुलाई कुटपिटको समाचार नखेल्ने धम्की दिने कार्यको भत्र्सना गदर्छौं ।’
यता गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपित यो विषय व्यक्तिगत भएको बताउँछन् । ‘पीडित भनिएकी र हातपात भएको भनिएका कर्मचारीहरु किन कानुनी प्रकृयामा गएनन् ? उनीहरुलाई सोध्नुहोला । हामीले यसमा बोलिरहनुपर्ने आवश्यकता छैन,’ उनले भने ।
स्थानीय सरकारका कर्मचारीहरुबीचमै गम्भीर अपराधमा आरोप प्रत्यारोप हुनु, कार्यालयमै कार्यालय प्रमुखमाथि हातपात हुनु, सन्चार माध्यम र सामाजिक सन्जालमा टिकाटिप्पणी हुनु र अन्तमा घटना सामसुम पारिनुले गाउँपालिकाको भने बदनामी भएको छ ।

राजनीतिक दलका खजुरा समितिको विज्ञप्ती

राजनीतिक दलका खजुरा समितिको विज्ञप्ती