सामाजिक उत्तरदायित्वमा दुई युवतीको विवाह
Thursday, December 9th, 2021, 6:36 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २३ मंसिर
नेपालगन्जमा दुई युवतीको विवाह समाजले सामुहिकरुपमा कार्यक्रम आयोजना गरेर गरिदिएको छ । विवाह पंचमीको अवसरमा आयोजित सांकेतिक राम सीता स्वंयम्बरमा आर्थिकरुपले विपन्न परिवारकी ती दुई युवतीको पनि विहे गरिएको हो । उनीहरुलाई स्वयंबरमा सहभागी नेपालगन्जवासीले उपहारसहित विवाह गरिदिएका हुन् । नेपालन्ज निवासी ज्योति वंशकार र पुष्पा पटहारको उनीहरु र उनका परिवारले रोजेका बरसँग गरिदिएको हो । ज्योतिका बर नेपालगन्ज निवासी जितकुमार बंशकार हुन भने भारत लखिमपुर निवासी रामबहादुर पटहार हुन् ।

विवाहको तयारी गर्दाको तस्बिर
यसैबीच विवाह पंचमीको दिन नेपालगन्ज वडा नम्बर-७ गगनगन्जस्थित रामजानकी मन्दिरमा राम सीताको सांकेतिक स्वयंवर गरिएको छ । परम्परादेखि नै गरिँदै आएको स्वयंबर बुधबारराती पनि सम्पन्न गरिएको हो । स्वयंवरमा सामूहिक भण्डारा पनि सन्चालन गरिएको थियो । भण्डारामा करिब पाँच हजार मानिस सहभागी भएको स्थानीयवासी एवं साहित्यकार सनत रेग्मीले जानकारी दिए । उनका अनुसार करिब वि. सं २०१६ सालदेखि नै नेपालगन्जमा रामसीता स्वयंवर आयोजना गरिँदै आएको छ ।
त्रिभुवन चोकस्थित मन्दिरबाट रामको यात्रा सुरु हुने र बागेश्वरी मन्दिर छेउको रामजानकी मन्दिरमा स्वयंवर हुने गरेकोमा विगत दुई वर्षदेखि गगनगन्जस्थित रजामजानकी मन्दिरमा आयोजना गरिँदै आएको छ ।

सांकेतिक रामको स्वयंवरमा सहभागी, बीचमा सांकेतिक रामको रथ
विवाह पंचमीका सन्दर्भमा साहित्यकार सनत रेग्मीको संक्षिप्त संस्मरण :
जब नेपालगन्जमा विबाह पंचमीमा मेला लाग्दथ्यो । पुरैनी बगियामा पाँच दिनको मेला हुन्थ्यो । रामलीलामा राम जन्मदेखी विवाहसम्मका लीला प्रदर्शन हुन्थे । नेपालगन्जका कलाकारहरूद्वारा नाटक देखाइनथ्यो । पन्ध्र साह्र साल जस्तो लाग्छ । त्यहाँ हाम्रो टोल गगनगन्जको नाटक मंडलीले वीर अभिमन्यु नाटक देखाएको थियो । त्यस नाटकमा केशव सिंह सिजापतिले अभिमन्यु र उनका दाजु ललितसिंह सिजापतिले कृष्णको भूमिका गरेका थिए । मेरो पिताजी नारदको भुमिकामा हुनुहुन्थ्यो । अन्य पात्र को-को थिए सम्झना भएन । त्यो नाटक मैले पनि हेरेको थिएँ । म लुकेर नाटक हेर्न गएको थिएँ । बाह्र बजे राती जाडोमा लुगलुग काम्दै पुरैनीबाट फर्केर आउँदा नाटक खेलेर पर्किनुभएका पिताजीले बाटोमा भेट्टाउनु भएर साइकलमा लिएर घर फर्किनु भएको सम्झना छ । यस्ता गल्तीहरूमा सधैं चुट्ने पिताजीले त्यसदिन झपारेर मात्र मुक्ति दिनु भयो । सायद बाटोमा लुगलुग कामेको देखेर दया लागेर होला ।
नेपालगन्जमा विवाह पन्चमी धूमधामसंग मनाइन्थ्यो । २०२१ सालमा तिनताक त्रिभुवन चौकमा मनाइने राम विवाहमा हुने रामलीलामा रामको अभिनय गरेको सम्झन्छु । त्यस रामलीलामा बाबुलाल लखेर सीता र रुपैडिहाका पत्रकार मनिराम शर्मा लक्ष्मण बनेका थिए । मंगल स्कुलका शिक्षक भगवति प्रसाद द्विवेदी परशुरामको भूमिकामा हुन्थे । गीत संगीत नृत्यसहित हुने रामलीला राती ४ बजेसम्म हुन्थ्यो । पारी भारतको लखनऊतिरबाट नृत्याङ्गनाहरू झिकाइन्थे । प्रतिपदादेखि पन्चमीसम्म हुने राम विवाह रालीलामा हाम्रो यो टिमले तीन वर्षसम्म रामलीला खेलेको थियो । विस्तारै हराउँदै गए ती दिनका रमाइलोहरू । धेरै दिनपछि रामविवाहको कार्यक्रम आजभन्दा १७ वर्ष पहिला पुनः प्रारम्भ भयो । तर रूप फेरिएर । त्रिभुवन चौकको मन्दिरवाट त्रिवेणी चौकको शिव मन्दिरमा रामको जन्ति जाने र सीता विवाह गरेर फर्कने । रामविवाह भन्डारा गर्ने गरिन थलियो । गत वर्षदेखि यो कार्यक्रम गगनगन्ज स्थित रामजानकी मन्दिरमा भव्यताका साथ मनाइन थालिएको छ । यस अवसरमा प्रतिवर्ष विपन्न परिवारका दुई कन्याको विधिवत विवाह पनि सामाजिक दायित्वमा सुसम्पन्न गरिन्छ ।
जे भएपनि नेपालगंजले आफ्नो परम्परालाइ बिर्सिएको छैन । जसोतसो धानिरहेकै छ ।

सांकेतिक राम रथबाट झर्दै