पैसा खर्च गरेर चुनाव जित्ने संस्कार अन्त्य हुनुपर्छ : जनगायक शर्मा
Thursday, December 9th, 2021, 6:59 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
दाङ, २३ मंसिर
पैसा खर्च गरेर चुनाव जित्ने संस्कार नरोक्दासम्म भ्रष्टाचार न्यूनीकरण हुन नसक्ने जनगायक जीवन शर्माले बताएका छन् । अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवसका अवसरमा नेपाल पत्रकार महासंघ दाङ शाखा र ग्रामीण महिला उत्थान केन्द्र घोराहीले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै बोल्दै जनवादी गायक शर्माले भ्रष्टाचारलाई न्यूनीकरण गर्नका लागि अहिले देखिएको पैसा खर्च गरेर चुनाव जित्ने सस्कार र परिपाटीलाई हटाउनुपर्ने बताए ।
व्युरोक्रेसीले नै नेताहरुलाई भ्रष्टाचारमा डुवाउने काम भैरहेकाले यसमा सुधार गर्न आवश्यक रहेको बताए । ‘खर्चिलो राजनीतिक प्रणालीका कारण सोझो इमान्दार नेता पनि भ्रष्टाचारमा डुव्ने अवस्था छ,’ उनले भने, ‘यो अवस्थाको अन्त्य हुन आवश्यक छ । त्यसका लागि नीतिगत सुधारमा ध्यान दिनुपर्छ ।’ उनले भ्रष्टाचारका जराहरु एकठाउँमा मात्र नभएर समाजका ठाउँ-ठाउँमा फैलिएकाले त्यसलाई रोक्नका लागि सवै सचेत नेपाली नागरिक एकजुट हुनुपर्ने बताए । ‘भ्रष्टाचार समाजका ठाउँ ठाउँमा जगडिएर बसेको छ । सानोतिनो बलले उखल्लन सकिदैन’,उनले भने,‘भ्रष्टाचारको जरा उखेल्नका लागि सवै नागरिक लाग्नुपर्छ । आधीवेरी ल्याउनुपर्छ । जव मात्र उखेल्लिनेछ ।’
उनले सवभन्दा बढी भ्रष्ट्राचार राजनीतिक दलबाट हुने गरेको भन्दै भ्रष्टाचारलाई अन्त्य गर्ने अभियान राजनीतिक दलका कार्यकर्ताहरुबाटै हुनुपर्ने बताए । आफ्नो नेतालाई आफ्नै दलका कार्यकर्ताहरुले सुधार गर्न सक्ने उनको तर्क थियो । ‘भ्रष्टाचार बेतिथिका विरुद्ध हामीहरुले बोलिरहेका छौ । र, बोलिरहने छौ । तर पनि नेताहरुले सुन्दैनन, मान्दैनन्’,उनले भने,‘त्यसैले अव भ्रष्टाचारलाई रोक्नका लागि सवैभन्दा ठुलो हात दलका कार्यकर्तामा छ । त्यसका लागि पार्टीभित्रका सचेत कार्यकर्ताले भ्रष्टाचारलाई रोक्नका लागि तल्लो तहबाटै पहल गर्नुपर्छ ।’ उनले कार्यकर्ता, व्यूरोक्रेसी, न्यायालय, कर्मचारीतन्त्रलगायतका क्षेत्रहरु सुधार नहुँदासम्म नागरिकस्तरबाट सचेतना र खवरदायी भैरहनुपर्ने बताए । सचेतना मुलक गीत गाउन छोड्ने र भ्रष्टाचार विरोधी आवाज उठाउन छोड्ने हो भने भ्रष्टाचार अझै बढ्ने उनले बताए ।
समृद्धि र विकासका लागि सुशासन
विकास र समृद्ध समाज निर्माणसँगै विकासका लागि सुशासन आवश्यक रहेको अन्य बक्ताहरुले बताएका थिए । उनीहरुले सुशासन कायम नहुँदासम्म देशको विकास हुन नसक्ने भन्दै सुशासन कायम गर्नका लागि घुस दिने र लिने दुवैलाई कडाभन्दा कडा कारवाही हुनुपर्ने जोड दिएका थिए ।
नीति नियमसँगै राजनीतिक, आर्थिक र सामाजिक संरचनाहरूमा परिवर्तन र सुधार गर्न सके समृद्ध र समुनत समाज निर्माण गर्न सकिने बक्ताहरुको जोड थियो । कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीले विकास र समृद्धिका लागि नीति कुरासँगै सोचमा परिवर्तन ल्याउन सक्नुपर्ने बताए । उनले नीति नियम बनेपनि सोचमा परिवर्तन गर्न नसक्ने हो भने भष्टाचार क मगर्न नसकिने भएकाले भष्ट्राचार म गर्दै भन्ने हरेक नागरिकमा अठोट चाहिएको बताए ।
‘नीति सुधारसँगै सोचमा परिवर्तन आवश्यक छ’,जिल्ला सभापति डाँगीले भने,‘ जवसम्म हरेक नागरिकमा भ्रष्टाचार गर्नु अपराध हो भन्ने चेतना जागृत हुदैन । तवसम्म न्यूनिकरण हुन सक्दैन ।’ कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष टिकाराम खड्काले भष्ट्राचारलाई निर्मूृल पार्नका लागि अहिलेको राजनीतिक प्रणालीमै सुधार आवश्यक रहेको बताए । उनले जति राम्रा कुरा गरेपनि खर्चिलो चुनावी प्रणालीका कारण भ्रष्टाचारलाई राजनीतिले नै प्रंशय दिने काम भैरहेको बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र घोराही नगर सभापति प्रमोद शर्माले समृद्धि र विकासका लागि सुशासन आवश्यक रहेको भन्दै सुशासन कायम गर्नका लागि नीति गर्न सुधार आवश्यक रहेको बताए । ‘अहिले भष्ट्राचार गर्नेहरु बच्ने र बचाउने सस्कार देखिएको छ । जसले गर्दा भ्रष्टाचार गर्नेलाई प्रोत्साहन भैरहेको छ’,नगर अध्यक्ष शर्माले भने,‘भ्रष्टाचार गर्नेलाई प्रशय होइन । कडा कारवाही गर्ने नियम आवश्यक छ । त्यसका लागि वर्तमान नीतिगत सुधारमा ध्यानदिनुपर्छ ।’
कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यले नीतिगत परिवर्तनसँगै नागरिकलाई सचेत नबनाउँदासम्म भ्रष्टाचारलाई न्यूनीकरण गर्न नसकिने बताए । भ्रष्टाचारलाई न्यूनीकरणकालागि कडा कानुनी व्यवस्थासँगै आम नागरिकलाई सचेत बनाउनुपर्नेमा जोड दिए ।