कानुन उल्लंघन गर्ने स्थानीय तहलाई कारबाही : मुख्यमन्त्री केसी
Thursday, December 9th, 2021, 7:01 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
दाङ, २३ मंसिर
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले कानुन उल्लघंन गर्ने स्थानीय तहलाई कारबाही हुने बताएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको भेटघाट कार्यक्रममा आफनो अधिकार भन्दा बाहिर गएर जथाभावी कर नलिन आग्रह गरेका हुन् ।
मुख्यमन्त्री केसीले गैरकानुनी रुपमा कर नउठाउन स्थानीय तहहरुलाई आग्रह गरेका हुन् । ‘कानुन उल्लंघन गर्ने अधिकार कसैलाई छैन । कानुनी दायरामा रहेर कर संकलन गर्नुपर्छ’,मुख्यमन्त्री केसीले,‘कानुनी दायरा बाहिर जाने स्थानीय तहरुलाई बजेट रोकिने छ ।’ अहिले दाङको लमही नगरपालिकाले बाटो प्रयोग गरे बार्फत निकासी कर लिने गरेको छ भने तुलसीपुर उपमहनगरपालिकाले व्यवायीहरुको साइन बोर्डको कर लिने गरेका छन् ।
मुख्यमन्त्री केसीले आफ्नो सरकारले प्रचारभन्दा काम गर्ने बताए । यसअघिको सरकारले कामभन्दा प्रचार गरेको उनको भनाई थियो । ‘अहिलेको सरकारले प्रचार होइन, काम गरेर देखाउने छ’, मुख्यमन्त्री केसीले भने,‘त्यही अनुसार अहिले काम भैरहेको छ ।’ प्रदेशको विकासका लागि गुरुयोजना निर्माणको काम अगाडी बढेको भन्दै चाडै तयार हुने बताए । उनले कुन क्षेत्रमा औद्योगिक क्षेत्र, पर्यटकीय क्षेत्र, प्रशासनिक क्षेत्र, आवासीय क्षेत्र छुट्याएर मात्र राजधानीको विकास गरिने बताएका थिए ।
कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिह वुढाथोकीले प्रदेश सरकारले नमुना प्रदेशको रुपमा विकास गर्ने कार्यमा सहकार्य गर्ने निजी क्षेत्र तयार रहेको बताए । उनले प्रदेशको समृद्धिक लागि आयात भन्दा निर्यातलाइ प्राथमिक्ता दिएर अगाडि वढनु पर्नेमा जोड दिएका थिए ।