नेपालगन्जमा फेशन बुटिकको ‘बाण्डिङ’ गर्दै ‘सिल्क’ (भिडियोसहित)
Friday, December 10th, 2021, 2:36 pm Kalpristha
अन्जली राजी नेपालगन्ज, २३ मंसिर
नेपालगन्जमा बुटिक व्यवसायलाई लोकप्रिय बनाउने र त्यसको आकर्षण बढाउने काममा नेपालगन्जस्थित ‘सिल्क फेशन बुटिक’ र त्यसकी सन्चालक साधना खड्काको उलेखनीय भूमिका छ ।
उनी एक किसान परिवारमा जन्मिइन्, हुर्किइन् । सानैदेखि फेसन र आकर्ष डिजाइनका कमपडा लगाउने उनको रहर हुन्थ्यो । समयसँगै उनको उक्त रुची बढ्दै गयो ।
सानो बेलाको उक्त रहर त्यसबेला पूरा नभएपनि अहिले भने उनले अरुको त्यस्तो रहर पूरा गर्दैछिन् । साथमा नेपालगन्जमा बुटिक व्यवसायाई ब्राण्डिङ गर्दैछिन् । नेपालगन्जमा उनको ‘सिल्क’ बुटिकका पारखीहरु बढिरहेका छन् । बुटिक व्यवसायमा सबै किसिमका आइटमहरु सुपथ मूल्यमा रोजेको डिजाइनमा तयार हुने बुटिकको रुपमा ‘सिल्क’को नाम प्रख्यात छ ।
उनको परिवार १० वर्षे सशस्त्र द्वन्द्वबाट विस्थापित परिवार हो । रुकुमको एक ग्रामीण क्षेत्रबाट द्वन्द्वको त्रासकै कारण उनको परिवार नेपालगन्ज बसाई सर्यो । उनले नेपालगन्जमै प्लस टु सम्मको अध्ययन पूरा गरिन् ।
पढ्दा पढ्दै सानै उमेरमा विवाह पनि भयो । बिहेपछि पनि उनलाई खाली बसेर श्रीमान् वा परिमाथि मात्रै आश्रित हुन मन लागेन । त्यसपछि उनले सानो कस्मेटिक पसल सन्चालन गरिन् । केही वर्ष कस्मेटिक पसल चलाएपनि उनको उक्त व्यवसाय लामो समय चल्न सकेन ।
यसबीचमा छोराछोरीको पढाईको लागि उनको परिवार काठमाडौं सर्यो । त्यहाँपनि खाली बसिरहन उनलाई उनको स्वभावले दिएन । काठमाडौँमा उनले फेन्सी पसल सन्चालन गरिन् । तर फेन्सी पसल पनि सोचेजस्तो राम्रो सन्चालन हुन सकेन । त्यहीमीचमा उनले बुटिकको आधारभूत तालिम लिइन् र आफैपनि अभ्यास गरिन् ।
काठमाडौंमै बुटिकलाई स्थापित गरिन् । काठमाडौंमा संभावना राम्रो देखेर उनी उत्साहित थिइन् । तर, त्यहीबीचमा २०७२ सालको भुकम्प गयो । भुकम्पले उनलाई पुनः नेपालगन्जमै फर्काइदियो ।
नेपालगन्जमा आएपछि पनि उनले आफूले सिकेको सीप र देखेको अवसर पछ्याइन् । त्यसबेला औँलामा गन्न सकिने बुटिक रहेको नेपालगन्जमा उनले सिल्क बुटिकको नाममा आफ्नो उपश्थिति जनाइन् । सुरुमा यसमा पाँच लाख लगानी लगाएर सुरु भएको उनको बु्टिक अहिले ६ वर्षमा ७०/८० लाखको पुँजीमा पुगिसकेको छ । तर हालको अवस्थामा सुरुवातमै २५ लाख सुरु लगानी चाहिनने उनको भनाइ छ ।
आम धारण बुटिक महंगो हुन्छ भन्ने रहेकोमा उनी त्यो धारणा बिस्तारै परिवर्तन भइरहेको बताउँछिन् । भन्छिन्, ‘बुटिक भन्न बित्तिकै एकदम महंगो भनेर बुझने गरिन्छ । बुटिकमै आएकाहरुले भन्छन् बजारभन्दा मुल्य डबल हुन्छ । बुटिकको बारेमा ७५ प्रतिशत त अझै बुझ्नै बाकी छ । बुटिक भनेको आफुले जसरी भएपनि सामानहरु संकलन गरेर म्याचिङ्ग गरेर लगाउने चिज हो । ग्राहकको चाहना अनुसार आकर्षक डिजाइन बनाइदिने हो हामीले ।’
साधना सिल्क बुटिक सेवा र बुटिक पारखीको सन्तुष्टिका आधारमा नेपालगन्जको एक प्रसिद्ध बुटिक बनेको बताउँछिन् । उनी सिल्कबाटै आफ्नो परिचय स्थापित भएको खुसी व्यक्त गर्दै भन्छिन्, ‘म बुटिककै नामले चिनिएको छु नेपालगन्जमा । मलाई मेरो नामले कमैले चिन्छन् होला तर मेरो पेसाबाट धेरैले चिन्छन् । साधना खड्का भनेर चिन्नु हुन्न । सिल्क बुटिक भनेर चिन्नु हुन्छ । जतापनि मेरो परिचय नै सिल्क बुटिक हो ।’
उनी बुटिक क्षेत्रमा क्षेत्रमा संभावना र आकर्षण धेरै बढेको बताउँछन् । ‘कति जना यहाँ आउनुहुन्छ, हामीलाई सिकाइदिनुस् भनेर हामीले सिकाउन भ्याउदैनौँ,’ उनले भनिन् । उनले करिब आधा दर्जन कर्मचारीहरुलाई त बुटिकमै रोजगारी दिएकी छन् ।
अधिकांशले उनको बुटिकमै आएर पनि थप सीप सिकेका छन् ।
उनी बुटिक सन्चालन गर्नुअघि आधारभूत भएपनि सीप सिक्न सुझाव दिन्छिन् । उनी नेपालगन्जमा बुटिक सीप सकिाउने ठाउँको आवश्यकता पनि रहेको बताउँछिन् । ‘सिक्ने ठाँउ यहाँ अहिले छैन, कसैले खोल्यो भने हो । सिक्नका लागि काठमान्डु, कि लखनौ कि दिल्ली जानुपर्छ,’ उनले भनिन् । उनले भविष्यमा बुटिकलाई थप आधुनिक र पारखीमैत्री बनाउँदै लैजाने योजना बनाएकी छन् ।