धान खरिदमा हरेक वर्ष किसानलाई सास्ति
Saturday, December 11th, 2021, 6:00 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २४ मंसिर
कहिले एक हप्तासम्म खाद्य व्यवस्था कम्पनीमा धान बेच्न जागा बस्नुपर्ने त कहिले कुपनमा लेखिएको दिनमा धान खरिद नभएर सास्ति ब्यहोर्नुपर्ने । बाँकेका किसानहरुले हरेक वर्ष सरकारले तोकेको मुल्यमा धान बेच्न अनेक सास्ति खेप्नुपर्छ । एक त समयमा धान खरिद हुँदैन । अर्कोतर्फ प्रकृयाका नाममा किसानमाथि अपमान र सास्ति थोपरिन्छ ।
यसवर्ष धान बेच्नका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले कृषि ज्ञान केन्द्रको सिफारिस आवश्यक पर्ने नियम लगाएपछि किसानहरुले थप दुःख पाउने देखिएको छ । कृषि ज्ञान केन्द्रको सिफारिस लिन पनि जिल्ला भरीका किसानहरु दुई दिन नेपालगन्ज पुग्नुपर्ने भएको छ । शुक्रबार बिहानैदेखि सिफारिस लिन आएका किसानहरु अनेक धक्कामुक्कीपछि कुपन मात्रै लिएर घर फर्किए । उनीहरु अब सिफरिस लिन पुनः कृषि ज्ञान केन्द्र पुग्नुपर्ने भएको छ । धान बेच्नका लागि खाद्य व्यवस्थाको कार्यालयमा कतिदिन कुर्नुपर्ने हो ठेगान छैन ।
शुक्रबार धान बेच्ने कुपन लिन कृषि ज्ञान केन्द्र नेपालगन्जमा भिड लाग्यो । किसानहरु एका बिहानै कृषि ज्ञान केन्द्रमा जम्मा भएपनि ११ बजिसक्दा पनि कार्यालयको गेट नखुलेपछि आक्रोशित भिडले गेटको प्रवेशद्वार तोडफोड गरिदिए ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिचौलिया नियन्त्रण गर्न सजिलो हुने भन्दै कृषि ज्ञान केन्द्रले किसान भएका सिफारिस दिने र उक्त सिफारिस लिएर आएकाहरुको मात्रै धान खरिद गर्ने निणर्य गर्यो । यद्धपि उक्त निणर्य प्रमुख जिल्ला अधिकारी संयोजकत्वको सरोकारवाला सरकारी निकाय र किसानका प्रतिनिधिहरु सम्मिलित प्राथमिक खरिद समितिमार्फत गराइएको हो । उक्त निणर्यअनुसार सिफारिस सहजरुपले दिने व्यवस्था नगरिँदा किसानहरु थप मर्कामा परेका छन् । कृषि ज्ञान केन्द्रले सिफारिस वितरणलाई व्यवस्थित गर्न नसकेको भन्दै किसानहरु आक्रोशित बनेका थिए ।
कृषि ज्ञान केन्द्रमा पुगेका किसानको भीड नियन्त्रण गर्न नसकेपछि प्रहरी बोलाइएको थियो । तर सिफारिस वितरण सहज हुन नसकेको किसानहरुको गुनासो कायमै छ । बाँकेको नरैनापुरका किसान मेवालाल मुराउले स्थानीय तहमा पनि कृषि शाखा रहेको र उक्त शाखाबाटै सिफारिस लिने व्यवस्था गरेको भए दुःख नपाइने बताउँछन् । ‘एक त ढिलोगरी धान किन्न लागेको छ । त्यसैमाथि अनेक झन्झटहरु व्यहोर्नुपरेको छ । खाली किसानहरुलाई दुःख मात्रै दिने काम भएको छ,’ उनले भने ।
एउटा कुपन लिएका किसानले ३० क्वीन्टल धान बेच्न पाउने व्यवस्था गरिएको छ । त्यसआधारमा शुक्रबार करिब आठ सय ३० वटा कुपन वितरण गरिएको छ । प्रति किसान ३० क्विन्टल धान खरिद गर्ने लक्ष्यअनुरुप लक्ष्य पूरा भएको भनिएको छ । भिडमा संघर्ष गर्न नसक्ने किसानहरु कुपन पनि नपाएर खाली हात घर फर्केका छन् । ‘शुक्रबार कृषि ज्ञान केन्द्र पुगेका करिब एक सय ५० किसानहरु कुपन नपाएर फर्किएको प्रहरीले जानकारी दिएको छ,’ जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले भने ।
डुडुवाका किसान सियाराम यादवले सिफारिस त पाउनु त परको कुरा प्रहरीको धक्कामुक्का खाएर फर्किनुपरेको बताए । ‘सरकारले हरेक वर्ष किसानलाई अनेक बाहनामा दुःख दिन्छ । जहिल्यै अपमानित गर्ने गर्छ,’ उनले दुःखेसो पोखे । कृषि तथा पशुपक्षी मन्त्रालयले गत भदौ २९ गते नै चालु आर्थिक वर्ष २०७८/७९ का लागि धानको समर्थन मूल्य तोकेको थियो । सरकारले तोकेको मोटा धानको न्यूनतम समर्थन मूल्य प्रति क्वीन्टल दुई हजार सात सय ५२ रुपैयाँ हो भने मध्यम धानको न्यूनतम समर्थन मूल्य दुई हजार नौ सय दुई रुपैयाँ छ । धानको मूल्य तोकिएपनि हालसम्म धान खरिदको प्रकृया सुरु भएको छैन । तर धान खरिदमा ढिलाई हुँदा अधिकांश किसानहरुले गाउँघरमै व्यापारीहरुलाई सस्तोमा धान बेचिसकेका छन् । खाद्यलाई पर्खिरहेका किसानहरुले प्रकृयाका नाममा झण्झट व्यहोरिरहेका छन् ।
यसवर्ष तोकिएको कोटा गतवर्ष खरिद गरिएको भन्दा झण्डै २२ हजार क्वीन्टल कम हो । नेपालगञ्ज शाखाले गतवर्ष ४७ हजार ८ सय क्वीन्टल धान खरिद गरेको थियो ।
गतवर्ष मंसिर ८ गतेबाट धान खरिद सुरु गरिएको थियो । धान खरिद प्रकृया सुरु गरेपनि यसवर्ष अधिकांश किसान धानको गुणस्तरका कारण समस्यामा पर्ने भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिस्यान नभएको र उच्च गुणस्तरको धान मात्रै खरिद गर्ने गरेको छ । यसवर्ष अधिकांश धान वर्षाले भिजाएकोले खाद्यका गुणस्तर मापदण्डमा नपर्ने जोखिम धेरै छ ।