कांग्रेसको सभापति र महामन्त्रीमा ६-६ जना उम्मेदवार (सूचीसहित)
Saturday, December 11th, 2021, 6:05 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, २५ मंसिर
नेपालको सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि सभापति र महामन्त्रीमा ६-६ जनाको उम्मेदवारी परेको छ भने उपसभापतिमा ७ र सहमहामन्त्रीमा २० जनाको उम्मेदवारी परेको छ । काठमाडौंमा जारी कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत शनिबार भएको मनोनयन दर्तामा सभापतिमा वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहित ६ जनाले उम्मेदवारी दिएका छन् । सभापतिमा देउवासहित नेताहरु शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधी, कल्याण गुरुङ र मनोज न्यौपालेले उम्मेदवारी दर्ता गराएका हुन् ।
देउवाको प्यानलबाट उपसभापतिमा विजय गच्छदार र पूणर्बहादुर खड्का उम्मेदवार बनेका छन् । यस्तै, महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार भएका छन् । महत निवर्तमान सहमहामन्त्री हुन् भने पौडेल केन्द्रीय सदस्य थिए । १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई साथ दिएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफ्नो तर्फबाट महामन्त्रीमा पौडेललाई अघि सारेका हुन् ।
देउवा समूहबाट महिला कोटाको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना, आदिवासी जनजातितर्फको सहमहामन्त्रीमा भीष्मराज आङ्देम्बे, दलितर्फको सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा, मधेशीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव, खस आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर, थारु तर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी, मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर र पिछडिएको क्षेत्रको सहमहामन्त्रीमा जीवनबहादुर शाही उम्मेदवार बनेका छन् ।
शेखरको टिमबाट उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी, महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगन थापाले उम्मेदवारी दिएका छन् । सहमहामन्त्रीको उम्मेदवारमा खस आर्यबाट देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, महिलाबाट कमला पन्त, जनजातिबाट विकास लामा, मधेसीबाट रामकृष्ण यादव र थारुबाट तेजुलाल चौधरी र अल्पसंख्यबाट वकिल मियाँ रहेका छन् ।
पौडेल पक्षबाट सभापतिको साझा उम्मेदवार छनोटमा सहमति नजुटेपछि नेता प्रकाशमान सिंहले सभापतिमा अलग्गै उम्मेदवारी दिएका छन् । उनको प्यानलबाट उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा विश्वप्रकाश शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।
शर्मा लामो समय सभापति शेरबहादुर देउवाको प्यानलमा रहेका थिए । केही महिनाअघि नै महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका शर्माले देउवा पक्षको प्यानलमा पर्न नसकेपछि शेखर कोइरालाको प्यानलमा बस्ने पहल गरेका थिए । तर त्यो पनि सम्भव नभएपछि उनी अन्तिममा सिंहको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका हुन् ।
अर्का नेता निधिले उपसभापतिमा दिव्येश्वरी शाह र महामन्त्रीमा राजाराम कार्कीसहित उम्मेदवारी दर्ता गराएका छन् । २५ वर्षसम्म सभापति शेरबहादुर देउवासँग सहकार्य गरेका निधिले १४ औं महाधिवेशनमा आफूलाई सभापतिमा समर्थन गर्न देउवालाई आग्रह गरेका थिए । तर देउवाले आफैं सभापतिमा उठ्ने बताएपछि निधिले छुट्टै उम्मेदवारी दिएका हुन् ।
सहमहामन्त्रीमा सबै समूहबाट गरी २० जनाले उम्मेदवारी दिएका छन् । जसमा मानबहादुर विश्वकर्मा, बद्री पाण्डे, फर्मुल्लाह मन्सुर, सुरेन्द्र प्रसाद चौधरी, देवराज चालिसे, रञ्जीत कणर्, रामकृष्ण यादव, कमला पन्त, तेजुलाल चौधरी, किशोर सिंह राठोर, विकास लामा, जीवन परियार, गंगा सुनार, महेन्द्र यादव, भीष्मराज आङ्दाङम्बे, जीवन बहादुर शाही, चेतराज बजाल, शेख वकिल, उमाकान्त चौधरी, डीना (महालक्ष्मी) उपाध्याय रहेका छन् ।

सूची