आजबाट धान खरिद गरिँदै
Sunday, December 12th, 2021, 6:00 am
Kalpristha
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालयले आज आइतबारबाट धान खरिद सुरु गरेको छ । कम्पनीले यसवर्ष बाँकेमा २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ । शाखा कार्यालयलाई कम्पनीको केन्द्रले मोटा धान ५ हजार क्वीन्टल र मध्यम धान २० हजार क्वीन्टल खरिद गर्ने लक्ष्य तोकिएको छ ।
धान बिक्रि गर्न आउने किसानले परिचय खुल्ने कागजात र कृषि ज्ञान केन्द्रको सिफारिस अनिवार्य लिएर आउनुपर्ने नियम लगाइएको छ । जसका लागि करिब आठ सय ३० जना किसानाई ज्ञान केन्द्रले सिफारिस वितरण गरेको छ । बिहान ९ बदेखि साँझ ४ बजेसम्म धान खरिद गरिने छ ।
कृषि तथा पशुपक्षी मन्त्रालयले गत भदौ २९ गते नै चालु आर्थिक वर्ष २०७८/७९ का लागि धानको समर्थन मूल्य तोकेको थियो । सरकारले तोकेको मोटा धानको न्यूनतम समर्थन मूल्य प्रति क्वीन्टल दुई हजार सात सय ५२ रुपैयाँ हो भने मध्यम धानको न्यूनतम समर्थन मूल्य दुई हजार नौ सय २ रुपैयाँ छ ।
गतवर्ष मंसिर ८ गतेबाट धान खरिद सुरु गरिएको थियो । धान खरिद सुरु गरेपनि यसवर्ष अधिकांश किसान धानको गुणस्तरका कारण समस्यामा पर्ने भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिस्यान नभएको र उच्च गुणस्तरको फ्रेस धान मात्रै खरिद गर्ने गरेको छ । तर, यसवर्ष अधिकांश धान भिजेर बिग्रेको छ ।