‘पुस्तक व्यवसाय व्यापार मात्रै नभई सेवा पनि हो’
Saturday, December 11th, 2021, 7:33 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २५ मंसिर
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले पुस्तक तथा स्टेशनरी व्यवसायीले राज्यको जिम्मेवारी पूरा गर्न सघाएको बताएका छन् । नेपाल पुस्तक तथा स्टेशनरी व्यावसायी संघ लुम्बिनी प्रदेशको तेस्रो साधारण सभा तथा दोस्रो प्रदेश अधिवेशनको नेपालगन्जमा उद्घाटन गर्दै शेरचनले मुलुकको कुना कन्दरामा पाठ्यपुस्तकहरु पुर्याएर पुस्तक तथा स्टेशनरी व्यवसायीहरुले ठूलो योगदान दिएको बताए । उनले शिक्षित नागरिक उत्पादन गर्नमा पुस्तक तथा स्टेशनरी व्यवसायीको महत्वपूणर् भूमिका रहेको बताए ।
लुम्बिनी प्रदेशका १२ जिल्लाका पुस्तक तथा स्टेशनरी व्यावसायीलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचले व्यवसायीको मर्कालाई ध्यानमा राखेर राज्यले जायज मागहरु सम्बोधन गर्ने वातावरण बनाउन आफ्नो क्षेत्रबाट पहल गर्ने आश्वासन दिए । उनले पुस्तक व्यवसाय व्यापार मात्रै नभई सेवा भएको पनि बताए । पुस्तकले समाजलाई सभ्यता र समृद्धितर्फ डोर्याउन मुख्य भूमिका खेल्ने भएकोले यसको महत्व राज्यले बुझेर नीति बनाउनुपर्ने धारणा राखे ।
अधिवेशन उद्घाटनमा बोल्दै संघका केन्द्रिय अध्यक्ष मनोहरी बस्यालले राज्यले पुस्तक तथा स्टेशनरी व्यवसायिकको योगदानको कदर गर्दै न्युनतम सुविधा र सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने बताए । संघका केन्द्रिय महासचिव दिवाकर घिमिरेले राज्यले अत्यन्तै न्युन दरमा पाठ्य पुस्तक उपलब्ध गराउदा पनि आफ्नै खर्चमा ढुवानी गरेर तोकिएकै मुल्यमा बिक्रि गरेर सेवा प्रदान गर्दापनि व्यवसायको सुरक्षाको अवस्था नहुनु बिडम्बना भएको दुःखेसो पोखे । घिमिरेले राज्यको पुस्तक नीति नै नहुँदा पुस्तक व्यवसाय अपेक्षितरुपमा फष्टाउन नसकेको बताए ।
संघका लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त लामिछानेले संघले अघि सारेको ‘हातहातमा पुस्तक र घरघरमा लाईब्रेरी’ अभियानलाई प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोगको वातावरण बनाइदिन लुम्बिनी प्रदेश प्रमुख शेरचनको ध्यानाकर्षण गराए । उनले संघले लुम्बिनी प्रदेशका सबै जिल्लामा ई-लाईब्रेरी स्थापना गरी पठन संस्कृतिको विकास गर्ने लक्ष्य निर्धारण गरेको अवगत गराउँदै भने, ‘यो व्यवसायको कुरा नभई देशकै हितको कुरा हो । यसमा प्रदेश सरकारले पनि हातेमालो गर्न आवश्यक छ ।’